
काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले निर्वाचनपछि पुनः आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । एमाले आमचोक गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राईले एमालेले जनताको पक्षमा काम गरेको बताउनुभयो । उहाँले विभिन्न षड्यन्त्रबाट एमाले नेतृत्वमा रहेको जनप्रिय सरकार ढालिएको जनाउनुभयो ।
राईले आगामी निर्वाचनपछि देशमा एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पूरा गर्ने बताउनुभयो ।“देश विकास भएको देख्न नसक्नेहरुले विभिन्न षड्यन्त्रबाट एमालेको नेतृत्वमा रहेको सरकार ढाले,” उहाँले भन्नुभयो,“अदालतमा भइरहेको अहिलेको क्रियाकलापले धेरै कुरा पुष्टि गरेको पनि छ ।” उहाँले देशमा विकासको लहर चलेको अवस्थामा एमाले सरकार ढाल्नु जनतालाई दुःख दिने नियत भएको जनाउनुभयो ।
भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामध्ये आमचोक गाउँपालिका र षडानन्द नगरपालिकाको पालिका अधिवेशन हुन बाँकी छ । षडानन्दको अधिवेशन बिहीबार हुँदै छ ।अधिवेशनले आमचोक गाउँपालिकाको अध्यक्षमा शुक्रदेव राईलाई चयन गरेको छ । उपाध्यक्षमा बसन्त राई, सचिवमा नेत्र खत्री, उपसचिवमा राजन विष्ट र नवीन राई चुनिनुभएको छ । नागरिक खबरबाट