
डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताउनुभएको छ ।बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताउनुभएको हो ।
आफूहरूको पार्टी नेकपा एस भन्नुको कारण एमाले नो हुनु रहेको उहाँको भनाइ छ । उहाँले आफूहरू एस हुने वितिक्कै एमाले नो भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी इन एमाले आउट, डडेल्धुरामा पनि समाजवादी एस र एमाले आउट भयो ।’उहाँले एकीकृत समाजवादी एउटा अभियान भएको दाबी गर्नुभयो । कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन नयाँ संकल्पका साथ र एमालेले आन्दोलन गरेर खडा भएको कम्युनिस्ट आन्दोलनको आदर्शको रक्षा गर्न, देश र जनताको हितमा एक ढिक्का भएर अगाडि बढ्न नयाँ पार्टी बनाएको उहाँको भनाइ छ।
‘आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुन्छ । आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहन्छ,’ उहाँले भन्नुभयो, ‘त्यो पाँचै दलबीच सहमति भइसकेको छ । केपी गुटको पत्तासाफ गरिदिनेछौं ।’उहाँले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे । ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उहाँले जिकिर गर्नुभयो। उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले दाबी गर्नुभयो।
भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रिने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गर्नुभयो ।आफूहरू अहिले कलम लिएर मेचीदेखि महाकालीसम्मको अभियानमा उभिएको उहाँले बताउनुभयो। न्यायको पक्षमा उभिने कलम नै सही रहेछ भनेर जनताले चिन्ने उहाँको दाबी छ । नागरिक खबरबाट