
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो ।
एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नौ जिल्लाको अन्तिम परीणाम विभागमा आउन बाँकी छ । उहाँका अनुसार ६८ जिल्लाको संगठित सदस्यको विवरण आइसकेको छ । एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सबै जिल्लाको तथ्यांक हेर्दा मोरङ सबैभन्दा बढी संगठित सदस्य भएको जिल्ला बनेको बताउनुभयो । बस्नेतका अनुसार मोरङपछि झापा छ ।
मोरङमा ३३ हजार ९ सय र झापामा २७ हजार ४ सय बढी संगठित सदस्य रहेको बस्नेतले बताउनुभयो । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । एमाले संगठन विभाग सचिव भुजेलका अनुसार प्रदेश कमिटीले अन्तिम रुप दिए पनि संगठन विभागमा अहिलेसम्म प्रदेश २ का चार जिल्ला सिरहा, सर्लाही, धनुषा, र महोत्तरी, बागमति प्रदेशको काठमाडौँ र सुदुरपश्चिम प्रदेशको चार जिल्ला बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आउन बाँकी छ ।
“नौ जिल्लाको अन्तिम विवरण आउन बाँकी छ, अन्य जिल्लाको संगठित सदस्यको विवरण आइसकेको छ,” विभाग सचिव भुजेलले भन्नुभयो, “७ लाख ५० हजारको अनुमान गरिएको थियो, उल्लेख्य संख्यामा सदस्यता नविकरण भएको देखियो, ९ जिल्लाको अन्तिम बिवरण आउँदा ८ लाख ५ हजार नाघ्ने देखिएको छ ।”एमालेको महाधिवशन आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुँदै छ । एमालेले महाधिवेशनका लागि शुक्रबार देशैभर एकैपटक प्रतिनिधि छनोट गर्दै छ । नागरिक खबरबाट