प्रतिबन्ध हटाए मात्रै पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्छौँ : इरान

काठमाडौँ । आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएमात्रै इरानले पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ । इरानका वरिष्ठ नेता अली सालेजेगाले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण मुलुकको ऊर्जालगायतका विभिन्न क्षेत्रको विकासमा बाधा पुगेको बताउनुभएको छ ।

इरान कार्बन उत्सर्जन गर्ने विश्वकै आठौं ठूलो मुलुक हो । तर पेरिस सम्झौतामा हस्ताक्षर नगर्ने कम मुलुकमा इरान पनि पर्छ । पेरिस सम्झौतामा १९२ मुलुकले हस्ताक्षर गरेका छन् भने १९७ मुलुकले कुनै न कुनै रूपमा सहमति जनाउनुभएको छ । पछिल्ला वर्षमा इरानको ऊर्जा क्षेत्रमा विदेशी लगानीमा कमी आएको छ । त्यसैले पनि इरानमा कार्बन उत्सर्जन बढेको बताइएको छ । पछिल्लो समय इरान आफै पनि जलवायु संकटको समस्या झेलिरहेको छ । इरानमा पानी कम पर्ने र नदीको सतह घट्ने समस्या देखिन थालेको छ ।

पानीको समस्या निम्तिनुमा इरान आफै जिम्मेवार भएको पनि आरोप लाग्ने गरेको छ । इरानमा लाखौँ कुवा खनिएको र कम्तीमा पनि ७ सय बाँध निर्माण गरिएकाले पानीको संकट निम्तिएको विज्ञहरूको आरोप छ । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ सम्मलेनमा इरानका राष्ट्रपति इब्राहिम राइसी सहभागी भएनन् । इरानबाट गएको एक प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय प्रतिबन्धमा राहत दिन अपिलसमेत गरेको छ ।

इरानी प्रतिनिधि अली सालेजेगाले भने, ‘विश्वका अन्य मुलुकजस्तै इरान पनि जलवायु परिवर्तनको असरबाट गुज्रिरहेको छ । देशमा वर्षा कम हुँद्र गइरहेको छ । नदीमा बग्ने पानी ४० प्रतिशतसम्म कम भएको छ । यसका कारण कृषि र उद्योगमा त समस्या देखिएको छ ।’ उनले पेरिस सम्झौतालाई इंगित गर्दै कुनै पनि सम्झौता दुईतर्फी हुनुपर्ने बताउनुभएको छ । उहाँले अगाडि भन्नुभयो, ‘प्रतिबन्ध लगाइएको बेला औषधिलगायतका आवश्यक सामग्री आयात गर्न सकिएको छैन जुन एक मूलभूत मानवअधिकार पनि हो ।’

इरानमा कार्बन उत्सर्जन बढी हुनुको प्रमुख कारण अत्यधिक कच्चा तेल उत्पादन हुनु हो । यसअघि इरानले आफूमाथिको प्रतिबन्ध हटाए कार्बन उत्सर्जन कम गर्ने बताएको थियो । सन् २०१५ पछि इरानले कार्बन उत्सर्जन कम गर्नेसम्बन्धी कुनै योजना सार्वजनिक गरेको छैन । सन् २०५० सम्म इरानमा ५० प्रतिशतले कार्बन उत्सर्जन बढ्ने आकलन गरिएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार