प्रधानन्यायाधीश एक सेकेण्ड पनि पदमा बस्न लायक छैनन् : पूर्वमहान्यायाधिवक्ता कार्की

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा एक सेकेण्ड पनि पदमा बस्न लायक नरहेको बताउनुभएको छ । ‘यदि उहाँ सम्मानित व्यक्ति हो, र न्यायलाई सम्मान गर्नुहुन्छ भने उहाँले सर्वप्रथम मेरो अदालतबाट प्रहरीहरू हट्नुपर्छ भन्नुपर्ने हो ।

तर, उहाँबाट यो कुराको कल्पना पनि सम्भव छैन । त्यसैले हामीले उहाालाई राजीनामा गर्नुस् भनेर भनेका हौं,’ नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा धर्नापछि बार भवन परिसरमा गरेको विरोधसभामा बोल्दै कार्कीले भन्नुभयो, ‘प्रधानन्यायधीश एक सेकेण्ड पनि पदमा बस्न लायक छैनन् ।’

उहाँले बारको आन्दोलनलाई कमजोर नठान्न सचेत गराउनुभयो। ‘बारको आवाज भनेको एउटा व्यक्ति बोलेको जस्तो होइन । यो कुनै व्यक्ति वा समुहको आवाज जस्तो पनि होइन । संसारमा कहीँ पनि न्याय व्यवस्था र कानुनी व्यवस्थाको बारेमा सोध्नुपर्‍यो भने आधिकारिक र पहिलो व्यक्ति भनेको बार नै हो । यसको संस्थागत निर्णय हुन्छ, यसको आवाज एकदमै महत्वपूर्ण मानिन्छ,’ पूर्वमहान्यायाधिवक्ता कार्कीले भन्नुभयो ।

उहाँले प्रधानन्यायाधीश जबराले प्रधानन्यायाधीश पदको मात्रै नभई आम नेपाली जनताको अपमान गरेको बताउनुभयो। ‘यो एउटा व्यक्तिको विरोध होइन, यो एउटा व्यक्तिले धारण गरेको सार्वजनिक पदको दुरुपयोगको विरोध हो । चोलेन्द्र शमशेर जबरा जुन पदमा हुनुहुन्छ, उहाँले त्यो पदको अपमान गर्नुभएको छ । त्यो सार्वजनिक पद हो । त्यो पदको अपमान गर्नु भनेको तीन करोड नेपाली जनताको अपमान हो,’कार्कीले भन्नुभएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार