देविस्थानको भिम माविमा कक्षाकोठा भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माविमा कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र विद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो ।

रु. एक करोड २२ लाख लागत अनुमान गरिएको भवनको बिहिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र समन्वयकर्ता जित बहादुर घर्ति मगरले शिलन्यास गर्नुभएको थियो ।

पहार ट्रसको रु.६१ लाख , मालिका गाउँपालिकाको रु. ५० लाख र विद्यालयको रु.११ लाख लागतमा भवन निर्माण गर्न लागिएको प्रअ डम्मर बहादुर घर्ति मगरले जानकारी दिनुभयो । प्रअ घर्तिले सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबेदार दिल बहादुर पुन मगरको अध्यक्षतामा सम्पन्न भवन शिलन्यास कार्यक्रममा वडा अध्यक्ष पिपला बुढा मगर पनि उपस्थित हुनुहुन्थ्यो ।

व्यवस्थापन समिति अन्तरगत भवन निर्माण समिति गठन भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन शुरु भएको भिम माविमा २५० जना विद्यार्थी छन् । पुरानो भवन जिर्ण भएकाले बिस्तृत परियोजना प्रतिवेदन तयार पारेर बेलायती सेनाका सेवा निबृत्त क्याप्टेन जित बहादुर घर्ति मगर मार्फत पहार ट्रसमा प्रस्ताव गरिएको थियो ।

भिम माविमा यस अघि पहार ट्रसको सहयोगमा पुस्ताकालय सहितको एक कोठे भवन निर्माण भएको थियो । यसैगरी ब्रितिस गार्खा वेयलफेयरले दुई कोठे भवन बनाएको थियो । बेलायती सेवा निबृत गोर्खा सैनिकहरु आवद्ध पहार ट्रसले यसअघि अन्नपूर्ण गाउँपालिका – ३ दानाको ज्ञानप्रकाशन माविमा पनि भवन निर्माण गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार