धनगढी । कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ वर्षीय तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट नाथको घटनास्थलमै मृत्यु भएको हो । उनी बिहान मर्निङ वाकका लागि राजमार्गमा निस्किएका थिए । दुर्घटनापछि कार चालक फरार छन् ।
उनी कञ्चनपुरकै स्थानीय भएको बुझिएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा विभिन्न ठाउँबाट कञ्चनपुर भित्रिने र जिल्ला बाहिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अनलाइनखबरबाट