गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका स्वर्गीय पूर्णबहादुर गर्बुजाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा परिवारले गलेश्वरमा लाख बत्ती प्रज्वलन गर्नुका साथै गलेश्वर ज्येष्ठ नागरिक आश्रममा रहेका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् ।

२०८१ साउन ११ गते स्वर्गारोहण हुनुभएका तत्कालीन प्रधानपञ्च गर्बुजाको स्मृतिमा उहाँकी धर्मपत्नी कलुमाया गर्बुजा, जेठा छोरा जसबहादुर गर्बुजा लगायत परिवारका सदस्यले शनिबार प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा लाख बत्ती प्रज्वलनसहित विशेष पूजाआजा गरेका हुन् ।

दिवंगत पितृको उद्धार, आत्मशान्ति तथा चिरशान्तिको कामना गर्दै धार्मिक विधिअनुसार लाख बत्ती प्रज्वलन गरिएको परिवारकी बुहारी चन्नी गर्बुजाले बताउनुभयो । उक्त अवसरमा परिवारजनले स्वर्गीय पूर्णबहादुर गर्बुजाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए ।

पुण्यतिथिकै अवसरमा गर्बुजा परिवारले गलेश्वर अन्नक्षेत्रमा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई एक दिनको निःशुल्क मिष्ठान्न भोजनसमेत गराएको छ । करिब ३० हजार रुपैयाँ बराबरको भोजनमा खिर, दही, तरकारी, अचारलगायत परिकार समावेश गरिएको थियो । परिवारले आश्रममा रहेका ज्येष्ठ नागरिकलाई फलफूल तथा नगद दक्षिणासमेत प्रदान गरेको जनाएको छ ।

त्यस्तै, जसबहादुर गर्बुजाकी छोरी पर्वतको जलजला–५, की जनी गर्बुजा पुनले आफ्ना बाजे पूर्णबहादुर गर्बुजाको स्मृतिमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई १० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

पितृको स्मृतिमा धार्मिक तथा पुण्य कार्य गर्ने परम्पराअनुसार लाख बत्ती प्रज्वलन तथा ज्येष्ठ नागरिकलाई भोजन गराइएको परिवारले जनाएको छ । यस्ता कार्यले दिवंगत पितृप्रति श्रद्धा अर्पण गर्नुका साथै परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्ने धार्मिक विश्वास रहेको परिवारजनको भनाइ छ ।

अन्नक्षेत्रले ज्येष्ठ नागरिक, तीर्थयात्री, विपन्न तथा बेसहारालाई नियमित रूपमा निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ । म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिब ४२ जना ज्येष्ठ नागरिकको गलेश्वर अन्नक्षेत्रले रेखदेख गर्दै आएको छ ।















