माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा फगामी

म्याग्दी । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा थमबहादुर बिक, विरबहादुर पौडेल र डबलसिहं पाईजा, सचिवमा श्याम खड्का, सह–सचिवमा नन्दबहादुर गर्वुजा र कोषाध्यक्षमा कविता क्षेत्री पदाधिकारी रहेको कमीटी सर्वसम्मत चयन गरिएको नेकपा माओवादी केन्द्र म्याग्दीले जनाएको छ । प्रदेश प्रतिनिधिको रुपमा ओमप्रसाद फगामी, बुद्धि पुन र विष्णुकुमारी दमाई चयन भएका नेकपा माओवादी केन्द्र जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो ।

अधिबेशनलाई सम्वोधन गर्दै माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै सामाजिक मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले गणतन्त्र, संघीयता, समावेशी ब्यवस्थालाई बलीयो बनाउन सबै लाग्न आग्रह गर्नुभयो । त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक जुग्जालीले वडा र पालिका सम्मेलनले माओवादी केन्द्र शक्तिशाली र बलियो बन्दै अघि बढेको बताउनुभयो । माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न जनताको साथ माओवादीलाई हुनुपर्नेमा जोड दिनुभयो । संयोजक जुग्जालीले वडा र पालिका अधिवेशन सफल पुर्व सम्पन्न भएको बताउदै आगामी दिनमा हुने प्रदेश, जिल्लाको अधिवेशनमा सक्रिय रहन पार्टीको विभिन्न तहका नेतृत्वलाई आग्रह गर्नुभयो । अधिवेशनमा गाउँपालिका ईन्चार्ज बुद्धि पुन र नगर अध्यक्ष शेरबहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।

प्रथम पालिका अधिवेशनबाट बेनी नगरपालिकाको अध्यक्षमा शेरबहादुर केसी, गाउँपालिका अन्तरगत रघुगंगाको अध्यक्षमा हरि भण्डारी, मंगलाको अध्यक्षमा यामबहादुर रोका, मालिकाको अध्यक्षमा दोरण शेरचन र धवलागिरिको अध्यक्षमा यामन रोका निर्वाचित गर्दै म्याग्दीमा माओवादी केन्द्रले पालिका अधिवेशन सम्पन्न गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार