रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै सुकुमबासीद्धारा प्रदर्शन

चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुमबासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै र्‍याली र प्रदर्शन गरेको हो ।

निर्वाचनअघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने सुकुमबासीहरूको योजना छ । केपी ओलीको सरकारले गठन गरेको सुकुमबासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्योल बनेको छ ।

लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुमबासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताउनुभयो । ‘नेताहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्’, उहाँले भन्नुभयो, ‘त्यसैले हामीले आजको प्रदर्शनको मुख्य नारा नै ‘नो लालपुर्जा, नो भोट’ बनाएका छौँ ।’

र्‍यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुमबासीको सहभागी थियो । सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका थिए । रत्ननगरको निपनी चोकबाट सुरु भएको र्‍याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा कोण सभामा परिणत भएको थियो ।

सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रूपमा देशव्यापी अभियान सुरु गरेको बताउनुभयो। लालपुर्जा नपाए आगामी तीनै तहको निर्वाचनमा सुकुमबासी समुदायले भोट नहाल्ने उहाँको भनाइ छ । नेपालमा ७० लाख सुकुम्बासी र ४० लाख सुकुमबासी मतदाता रहेको उहाँले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार