क्रिसमस यात्राले ओमिक्रोन फैलिन सक्छ : डा. फौची

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिनुभएको छ ।

वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले एनबीसी टेलिभिजनको ‘मिट द प्रेसु कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टको संक्रामक दर बढी भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभएको हो । ‘यसमा कुनै शंकै छैन । ओमिक्रोनको संक्रामक दर बढी रहेको छ,’ उहाँले भन्नुभयो । डा. फौचीले ओमिक्रोन भेरिएन्ट अहिले विश्वभर फैलिइरहेको पनि बताउनुभयो । ओमिक्रोन भेरिएन्टको संक्रमण रोकथामका लागि अहिले विश्वका विभिन्न देशहरूले कडा स्वास्थ्य मापदण्ड अपनाइरहेका छन् ।

युरोपेली मुलुकहरू फ्रान्स र जर्मनीले क्रिसमसमा भीडभाड हुन सक्ने भन्दै कडा प्रतिबन्ध लगाएका छन् । यद्यपि जर्मनीमा भने सरकारको निर्णयविरुद्ध व्यापक विरोध भएको छ । डा. फौचीले ओमिक्रोनको बढ्दो संक्रमणले अमेरिकाको स्वास्थ्य प्रणालीमा प्रभाव पर्ने बताउनुभएको छ । अहिलेकै अवस्थामा रहने भने अमेरिकी स्वास्थ्य प्रणालीमा निकै दबाब आउने उहाँको भनाइ छ । खोपको बुस्टर डोज लगाउनका साथै मास्क र सामाजिक दूरीको मापदण्ड पालना गर्न पनि उहाँको आग्रह छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार