अब हुने निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताउनुभएको छ।

नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै उहाँले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका थिए।आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रण गर्दै महामन्त्री शर्माले पार्टी प्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताउनुभयो।

नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै उहाँले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पार्नुभएको थियो । आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै महामन्त्री शर्माले सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपङ्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै उनले त्यसका लागि आफू र नेतृत्वले संयोजन गर्ने उल्लेख गर्नुभएको थियो। मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको उहाँको भनाइ थियो।कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउनका लागि अग्रजसँग समूहगतरुपमा क्रियाशील भएर काम गर्ने उहाँले बताउनुभयो। युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने गरी अघि बढाएका सबै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्नुभएको थियो। मिडिया र सञ्चारकर्मीलाई सहयोग पुग्ने गरी प्रभावकारी योजना ल्याउन सरकारलाई उनले आग्रह गर्नुभएको थियो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार