
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुुटी संरक्षणमा लाग्नुभएको छ । उहाँले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोप्नुभएको छ ।
सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी गाउँपालिकाका–१० जना युवाहरू आपसमा मिलेर एक वर्षअगाडि लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गर्नुभएको छ । उहाँहरूले १० रोपनी जग्गामा सतुवा खेती सुरु गर्नुभएको छ । सतुवा खेतीमा लागेका तामाङले सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीप जिल्लाका विभिन्न ठाउँमा रहेका अन्य किसानलाई पनि सिकाउँदै आउनुभएकोे छ ।
‘अलैँची खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने मेरो सोच छ,’ उहाँले भन्नुभयो । तामाङले छिनखोलामा ४० रोपनी पाखो जग्गामा अलैँची खेती गर्नुभएको छ । अलैँची खेतीसँगै अहिले उहाँ सतुवा खेतीलाई व्यावसायीक रुपमा अगाडि बढाउनुभएको छ । उहाँले भन्नुभयो, ‘कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीतर्फ आकर्षित भएको हुँ ।’ सुरुमा दोलखाबाट प्रति बिरुवा ८० रुपैयाँका दरले ५०० बिरुवा ल्याएर एक रोपनी जग्गामा उनले सतुवा खेती सुरु गर्नुभएको हो ।
अहिले उहाँले पाँच रोपनीमा रहेका तीनवटा ग्रीन हाउसमा करिब १२ हजार सतुवाको बिरुवा रोप्ने योग्य बनाउनुभएको छ । सुरुमा एक लाखबाट सुरु गरेको सुतवा खेतीमा अहिले करिब १५ लाख लगानी भइसकेको छ,’ तामाङले भन्नुभयो । उहाँमात्र होइन छिनखोलाकै दिनेश तामाङ पनि लकडाउनको समयमा अहिले सतुवा रोपेर दिन बिताउनुभएको छ । बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । ‘सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ,’ उहाँले भन्नुभयो, ‘अन्य खेतीमा भन्दा सतुवा खेतीमा किसानलाई फाइदा छ ।’
अहिले छिनखोलामा अलैंचीसँगै सतुवा खेतीमा पनि स्थानीयको आर्कषण बढेको चितरीमायाँ तामाङ बताउँनुहुन्छ। उहाँमात्र होइन मर्स्याङ्दी गाउँपालिका–८ रिङटाङकी कृष्णकुमारी गुरुङ पनि गतवर्ष कोरोना महामारीसँगै बजारबाट गाउँ फर्किनुभएको छ ।लामो समयदेखि बेसीशहरमा बस्दै आएकी कृष्णकुमारी गतवर्ष गाउँ फर्किएसँगै बाँझो एक रोपनी जग्गामा सतुवा खेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाले बेसीशहरमा बस्ने उपाय भएन, गाउँ फर्किएसँगै अहिले कृषिकर्ममा लागेकी छु ।’
सतुवा जंगलमा पाइने एक प्रकारको जडीबुटी हो । समुद्री सतहदेखि १४ सय मिटरमाथि उचाइसम्ममा यसको खेती गर्न सकिन्छ । संरक्षणको अभावमा सतुवा जडीबुटी हराउँदै जान थालेको मस्र्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताउनुभयो । उहाँका अनुसार सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । सतुवा बहुमूल्य जडीबुटी रहेको उहाँले बताउनुभयो ।नागरिक खबरबाट