ललितपुर महानगरपालिकाको नागरिक सचेतना अभियान सुरू

ललितपुर । ललितपुर महानगरपालिकाले नागरिक सचेतना अभियान सुरू गरेको छ। नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ‘स्वच्छ, सुन्दर ललितपुर’ भन्ने नारासहित नगर प्रहरीले एक साता लामो सचेतना अभियान आइतबारबाट सुरू गरेको हो।

सचेतना अभियान अन्तर्गत पहिलो दिन आज ललितपुर नगर प्रहरीले सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित मोटरसाइकल र्‍यालीको आयोजना गर्‍यो। महानगर भित्र बसोबास गर्ने जनतालाई सभ्य र सचेत गराउन तथा नयाँ नियम कानूनबारे जानकारी गराउने उद्धेश्यले अभियान सुरू गरेको ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिनुभयो।

‘सचेतना कार्यक्रमअन्तर्गत नागरिकलाई नगरपालिकाका नियमहरूबारे जानकारी दिनेदेखि स्वच्छ सुन्दर ललितपुर बनाउन महानगर र नागरिकको साझेदारीबारे पनि सचेतना फैलाउँछौँ,’ उहाँले भन्नुभयो ,‘कार्यक्रममा फोहोर व्यवस्थापन, सवारी पार्किङ, फुटपाथ अतिक्रमण भवन निर्माणदेखि करबारे नागरिक जानकारी दिइनेछ। यसका लागि पर्चा बाँड्नेदेखि टोलटोलमा पुगेर माइकिङ गर्नेसम्मको कार्य गरिनेछ।’

नगर प्रहरीले यसअघि जथाभावी पार्किङ गर्ने सवारीसाधानलाई कारबाही गर्दै आएको छ। फुटपाथ मासेर सवारी चलाउन बाधा पारी पार्किङ गरेर राखिएका सवारीलाई ह्वील लक गरी तत्कालै जरीवाना गराउन थालेको छ। यो अभियानबाट पछिल्लो समय जथाभावी पार्किङ गर्ने बानी परिवर्तन हुँदै गएको हाछेथुले बताउनुभयो। ‘हामीले सचेतनास्वरूप कारबाही थालेका थियौं । छोटो समयमै सफल भयौं’, उहाँले भन्नुभयो,‘हाम्रो अभियानलाई नगरवासीले साथ दिनुभएको छ।’सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार