
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता परिवारलाई सम्मान गर्न पार्टी कमिटी तथा विभागहरुले आफ्नो ठाउँबाट राज्यलाई दबाब सिर्जना गर्नुपर्ने खाँचो पनि औंल्याउनुभएको छ ।
सहिद तथा बेपत्ता भएकाहरुको परिवारसँग नियमित भेटघाट गर्नुपर्ने, उनीहरुको सम्मान गर्ने तथा राज्यको तर्फबाट उचित राहतको व्यवस्थापनका लागि जोड गर्नुपर्ने उहाँको भनाइ छ । घाइते तथा अपाङ्ता भएकाहरुको विशेष उपचारका लागि जोड दिने, सहिद, बेपत्ता भएकाहरुको नाममा रहेका प्रतिष्ठानलाई समन्वयात्मक रुपमा क्रियाशील बनाउन पनि उहाँले जोड दिनुभएको छ । उहाँले पूर्वजनमुक्ति सेनालाई पार्टीको काममा जोड्ने र उचित जिम्मेवारी दिने विषयलाई सबै कमिटीले गम्भीरतापूर्वक लिनुपर्ने पनि प्रस्ट पार्नुभएको छ । रातोपाटीको सहयोगमा