गण्डक नहर : नेपालकै नदीबाट पानी छाड्नका लागि भारतको भर

परासी । पछिल्ला वर्ष गण्डक नहरमा भारतीय पक्षले समयमै पानी नछाड्दा मर्कामा परेका नेपाली किसान यस पटक भने नेपालतर्फकै संरचना भत्किएका कारण मर्कामा परेका छन् ।

भारतीय पक्षले नेपालतर्फको नहरमा पानी छोडेपछि गहुँ, मसुरो, तोरी, आलु लगायतका तरकारी बालीमा सिँचाइ गर्न सहज भए पनि नहरले छोएको नेपालतर्फको ठुलो हिस्सामा भौतिक संरचना दुरुस्त नहुँदा स्थानीय किसानले समुचित लाभ लिन सकेका छैनन् । नेपालकै नदीको पानी भए पनि नेपाल र भारतबीच भएको गण्डक सम्झौता अन्तर्गत नेपाली नहरमा पानी छाड्नका लागि भारतीय पक्षको भर पर्नुपर्ने बाध्यता छ ।

प्रत्येक वर्ष भारतीय पक्षले नेपाली नहरमा ढिलो पानी छोड्ने गर्दा नेपाली किसानहरू सिँचाइका बेला चर्को शुल्क तिरेर बोरिङबाट पानी लैजाने गर्दछन् । तर यस वर्ष नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालय र जल उपभोक्ता समिति नवलपरासीको पहलमा भारतीय पक्षले भारतीय नहरभन्दा छिटो नेपाली नहरमा पानी छोडेको कार्यालय प्रमुख रन्धीर कुमार साहले जानकारी दिनुभयो।

उनका अनुसार भारतीय पक्षले नहरमा गत मङ्सिर २६ गते नै पानी छोडेको हो । मूल नहर, शाखा र माइनरहरूमा पानी पुगे पनि खेत लेबलका अधिकांश संरचना बिग्रिएकाले खेतमा पानी पुग्न सकेको छैन । बिग्रिएका तथा भत्किएका संरचना मर्मत गर्न कार्यालय लागिपरेको भन्दै उहाँले यसतर्फ सम्बन्धित पालिका र किसानहरूको पनि ध्यान पुग्न जरुरी रहेको बताउनुभयो ।

यस नहरले बर्दघाट र रामग्राम नगरपालिकाका साथै सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गाउँपालिकाको कुल १० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको छ । गण्डक कमाण्ड क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म ३२ किलोमिटर लामो एउटा मूल नहर, ३ वटा शाखा नहर, ६ वटा माईनर नहर, २६ वटा एमसी, ६ वटा एसएफडी र १६२ वटा एमएसडी छ ।

यस बाहेक सयौँको सङ्ख्यामा नाला तथा कुलो छन् तर अधिकांश खेत लेबलका संरचना ध्वस्त भएका र अधिकांश किसानले आफै कुलो मिचेर खेत बनाइसकेकाले खेतमा नहरको पानी पुग्न नसकेको जल उपभोक्ताका अध्यक्ष हैदर अली मोमिनले जानकारी दिनुभयो । नेपाल सरकारले ६० करोड रुपैयाँको बजेटमा गत वर्षदेखि नेपाल गण्डक पश्चिम नहर सिँचाइ प्रणालीलाई व्यवस्थित गर्दै नहरको वृहद सरसफाई तथा मर्मत सम्भार कार्य गरिरहेको कार्यालयले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार