सिरहामा आजदेखि दुई दिने निषेधाज्ञा जारी

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा निषेधाज्ञा जारी गरेको छ हो ।

सीके राउत नेतृत्वको जनमत पार्टीले आज र भोलि दुई दिन सिरहा बन्दको घोषणा गरेसँगै ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको सिरहा प्रशासनको विज्ञप्तीमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय सिरहादारा जारी विज्ञप्तिमा पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पी।के।राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यो अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सञ्चालन हुनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने विज्ञप्तीमा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम लम्ब्याएपछि प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीदारा जारी विज्ञप्तिमा उल्लेख छ । जनमत पार्टीले माग पूरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै १३ र १४ गते जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको थियो ।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरुलाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गर्नुपर्ने, किसानलाई समयमा मल उपलब्ध गराउनुपर्नेलगायतका ७ बुँदे माग राखेर जनमत पार्टीले सिरहामा आन्दोलन चर्काउँदै आएको छ । आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार १६ वटा सवारी साधन तोडफोड गरेका छन भने एउटा ट्रकमा आगजनीसमेत गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार