काठमाडौँ । श्रम विज्ञ गणेश गुरुङले नेपाली श्रमिकहरू कम तलब भएका भारत, मलेसिया लगायत मुलुकमा काम गरिरहेकाले नयाँ श्रम बजार खोज्न जरुरी रहेको बताउनुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड समिट २०२१’ का मुख्य वक्ताको रुपमा रहेका गुरुङले श्रम बजारको नयाँ गन्तव्य खोजेर ब्राण्डिङ गर्नुपर्ने बताउनुभयो ।
‘हाम्रो ब्राण्ड छ, तर प्रयोग गर्न सकेनौं । अहिले सबैभन्दा कम तलब भएको भारत, मलेसियामा श्रमिक पठाएका छौ,’ उहाँले भन्नुभयो, ‘श्रमिकको हितका लागि नयाँ श्रम गन्तव्य खोजी गरौं ।’ विश्व परिवेशमा १४ हजार कामदारको देहान्त भइसकेको उहाँले बताउनुभयो ।
नेपालमा रहेका ५४ लाख घरधुरीमध्ये करिब ६० प्रतिशतको घरमा रेमिट्यान्स भित्रिएको उहाँले बताउनुभयो । ‘हरेक दिन १५ सय विदेशिएका छन् । दैनिक २ अर्ब ६३ करोड २९ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ,’ गुरुङले भन्नुभयो, ‘यसले अर्थतन्त्रमा करिब २८ प्रतिशत योगदान गरेको छ । तर, सरकारको लगानी शून्य छ ।’ ekantipurबाट