पत्रकारहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न 

ताताेपानी ।  म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा सञ्चालित पत्रकारलाई लक्षित क्षमता अभिवृद्धिसम्बन्धी तालिम आज (सोमबार) सकिएको छ । म्याग्दी जिल्लामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति म्याग्दी र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको समन्वय एवं व्यवस्थापनमा तालिम सञ्चालन गरिएको थियो । तीन दिनसम्म चलेको तालिममा म्याग्दी जिल्लामा क्रियाशील स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध ४० जना पत्रकाहरुले सहभागिता जनाएका थिए ।

तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता कृष्णमणि बरालले सहजीकरण गर्नुभएको थियो । तालिम अवधिभरमा फोटोग्राफी, फोटो पत्रकारिता, क्यामेरा, फोटो खिच्ने तरिका, अटो र म्यानुअलको प्रयोग तथा लेन्सलगायत विभिन्न विषयमा सहजीकरण गरिएको थियो । यसैगरी तालिममा सञ्चार, आमसञ्चार, पत्रकारिता, समाचार, हार्डन्युज र सप्टन्युज, समाचारका स्रोत, मूल्य, फिचरलेखन समाचारको रिपोर्टिङ र प्रस्तुतीकरण लगायतका विभिन्न विषयहरुमा पनि सहजीकरण गरिएको थियो ।

तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तालिमले पत्रकारहरुमा पुनर्ताजगी गराउने हुँदा आगामी दिनमा समाजप्रति जिम्मेवार, उत्तरदायी, सकारात्मक पत्रकारिता गर्नका लागि सुझाव दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले खोजमूलक र सकारात्मक पत्रकारिता गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक धर्मेन्द्र झा र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य राख्नुभएको थियो ।

तालिमको समापनसत्र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माको अध्यक्षता, उपाध्यक्ष सोनी शर्माको स्वागत र महासचिव गोविन्द सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो भने तालिमका सहभागीद्वय कृष्ण जिसी र रेखाकौशल रेग्मीले अनुभव सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार