मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ ।सोमबार राति सम्पन्न गाउँसभाले चालु बर्षको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ । उपाध्यक्ष खरमाया विटालुले प्रस्तुत गर्नुभएको चालु बर्षको संशाेधित सात करोड ९६ लाख ८५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो । साझेदारी कोष (म्याचिङ फन्ड)मा दुई करोड १७ लाख,समपुरक तर्फ दुई करोड ९७ लाख ,थप योजनालाई एक करोड १९ लाख ,गत बर्षमा सम्पन्न नभएका योजनाहरुलाइ एक करोड ६३ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य चौकी स्थापना नभएको वडा नम्बर ३को पात्ले सहित स्वास्थ्य चौकीको पहुँच नपुगेका बस्तीमा दश वटा स्वास्थ्य इकाई स्थापना तथा संचालनको लागि ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत बर्ष कोभिड–१९ कारण अधुरा रहेका योजनालाई पुर्णता दिन थप एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । १३६ वटा वडा स्तरीय योजना मध्ये हालसम्म १४ वटा मात्र योजना सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर १को ओखरबोट ,वडा नम्बर २ का जेम र धुलबाङ,वडा नम्बर ३ को पात्ले ,वडा नम्बर ४ का सिस्नेरी र ओखरबोट ,वडा नम्बर ५ को पन्थोक ,वडा नम्बर ६ का दिच्याम र दुखु तथा वडा नम्बर ७ को दुलेओढारमा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिने भएको छ । वडा नम्बर २ जेमदेखि वडा नम्बर ३को पात्ले जोड्ने र  वडा नम्बर ४ च्युरिबोटदेखि सोही वडाको सिस्नेरी जोड्ने सडकलाई थप  बजेट विनियोजन गरिएको उपाध्यक्ष विटालुले जानकारी दिनुभयो    । गत असारमा बजेट बिनियोजन भएका केही योजना तथा कार्यक्रमहरुको बजेट शिर्षकान्तर र रकमान्तर गर्ने प्रस्ताव पनि गाउँसभाले पारित गरेको छ ।

गत बर्ष कोभिड–१९ का कारण अधुरा रहेका योजनाहरुलाई पुर्णता दिन प्राथमिकता दिएर बजेट उपाध्यक्ष विटालुले बताउनुभयो । नमुना कृषि बस्ती निर्मााण र विद्यालयको क्षमता विकासका लागि थप बजेट विनियोजन गरिएको उपाध्यक्ष विटालुले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष विटालुले गाउँपालिको हाल सम्म भएका चालु तथा पुँजिगत प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार ,हालसम्म चालु तर्फ २५.९ प्रतिशत र पुँजिगत तर्फ ४.९४ प्रतिशत गरी १५.४२ प्रतिशत प्रगति भएको छ । गाउँपालिकाका अध्यक्ष रोका मगरले चालू आर्थिक वर्षका योजनाहरु छिटो सम्झौता गरी समयमै सम्पन्न गराउन सहजिकरण गर्न वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार