
जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । समाजवादी दलित मुक्ति सङ्गठनको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक व्यवस्थामा दलित समुदायले निर्वाचन जित्न सक्ने अवस्था नरहेकाले छुट्टै निर्वाचन क्षेत्र आरक्षित हुनुपर्ने बताउनुभयो ।
‘निर्वाचन निक्कै महँगो हुँदैगएको छ, यस्तो अवस्थामा दलित समुदायले निर्वाचन जित्न धेरै नै गाह्रो छ । प्रदेश नं २ मा एउटा पनि एक पनि दलित छैन, जसले ठूलो रकम खर्चेर निर्वाचन जित्न सक्छ, त्यसैले दलित निर्वाचन क्षेत्र आरक्षित हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’अध्यक्ष यादवले भन्नुभयो । राजनीति र सरकारी निकायमा प्रतिनिधित्व हुँदा मात्र दलित समुदायले न्यायका लागि लड्न सक्ने भएकाले राजनीतिमा दलितको प्रतिनिधित्वका लागि निर्वाचन क्षेत्र नै आरक्षित गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलित समुदायको उत्थान र विकासमा प्रदेश सरकारले प्रगतिशील कार्य अघि बढाएको बताउनुभयो । समाजिक उत्पीडन र विभेदमा परेका दलित समुदायको उत्थानका लागि प्रदेश सरकारले दलित सशक्तिकरण विधेयक ल्याइसकेको भन्दै उहाँले विधेयक कार्यान्वयनपछि प्रदेशमा दलित समुदायको प्रतिनिधित्व उत्साहजनक रुपमा बढ्ने दाबी गर्नुभयो ।
प्रदेश सरकारले ल्याएको विधेयकले दलित समुदायको पालिकादेखि प्रदेशको हरेक निकायका साथै प्रशासनिक क्षेत्रमा दलित समुदायको जनसङ्ख्याको आधारमा सहभागिता हुने उहाँको भनाइ छ । साथै प्रदेश सरकारले दलित समुदायको पक्षमा अन्य कार्यक्रम ल्याउन लागेको पनि उहाँले बताउनुभयो । समाजवादी दलित मुक्ति सङ्गठनका अध्यक्ष खिमबहादुर विश्वकर्माको अध्यक्षतमा आयोजित उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य चमेलीदेवी दास, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले दलित समुदायको पक्षमा निरन्तर वकालत गर्नुपर्नेमा जोड दिनुभयो । ekantipur बाट