
काठमाडौँ । अस्वस्थ्यताका कारण तीनपटक महत्वपूर्ण कार्यक्रमहरुमा सहभागिता नजनाएका प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि आइतबार भारतको नयाँ दिल्ली जाँदैहुनुहुन्छ । नेपाली सेनाकाअनुसार शर्माले पुस १८ देखि ३० गतेसम्मका लागि बिदा लिनुभएको हो ।
त्यो अवधिमा शर्मा स्वास्थ्य परीक्षणको लागि भारत जाने सेनाले जनाएको छ । मन्त्रिपरिषद्ले उहाँको बिदा स्वीकृत गरिसकेको छ ।सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानसेनापति शर्माले बिदा लिएर व्यक्तिगत रुपमा स्वास्थ्य परीक्षणको लागि भारत जान लागेको प्रष्ट पार्नुभयो । ‘उहाँले बिदा लिएर स्वास्थ्य परीक्षणको लागि जान लाग्नु भएको छ । व्यक्तिगत स्वतन्त्रता र गोपनीयताका कारण उहाँ के उपचारमा जान लागेको भन्ने कुरा बाहिर ल्याउनु उचित ठिक नहोला कि,’ पौडेलले भन्नुभयो ।
पौडेलले शर्मा सामान्य स्वास्थ्य परिक्षणको लागि भारत जान लागेको बताउनुभयो । सामान्य स्वास्थ्य परिक्षणकै लागि भारत किन जान लागेको भन्ने बारेमा भने सेनाले प्रष्ट पारेको छैन । गत भदौ २४ गतेदेखि तीन वर्षका लागि प्रधानसेनापतिको कार्यकाल सम्हालेका शर्मा पटक–पटक स्वास्थ्यका कारण महत्वपूर्ण कार्यक्रममा उपस्थित हुन सकेका छैनन् ।
अस्वस्थताकै कारण शर्मा असोज ३ गते संविधान दिवसको दिन पनि पूर्ण रुपमा कार्यक्रममा सहभागि हुन सक्नुभएन। सैनिक मञ्च टुँडिखेलमा सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित कार्यक्रममा सलामी अर्पणमा अस्वस्थ्यताका कारण सहभागि हुनुभएन् । सोहि कुराको असोज २६ गते फूलपाती भित्र्याउने कार्यक्रममा पनि रह्यो । अस्वस्थ्यकै कारण सैनिक मञ्च टुँडिखेलमा सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारी उपस्थित कार्यक्रममा सलामी अर्पणमा शर्मा सहभागि हुनुभएन।
यस्तै, कात्तिक ७ गते भने संयुक्त राष्ट्रसंघ (यूएन) दिवसमा सेनाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्यतालिम केन्द्रमा आयोजित विशेष कार्यक्रममा सहभागि हुनुभएन । शर्मा अस्वस्थ्यकै कारण जनाउँदै तत्कालिन रक्षामन्त्री मिनेन्द्र रिजाल र विदेशी मुलुकका राजदूतहरु उपस्थित कार्यक्रममा सहभागि हुनुभएन। तीनै अवसरमा शर्माको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले सहभागि हुनुभयो । चौथो पटक फेरि अस्वस्थ्य भएपछि भने प्रधानसेनापति शर्मा विदा नै लिएर भारत जान लाग्नुभएको हो ।
उहाँको अनुपस्थितीमा रथी कार्कीले सेनाको नेतृत्व सम्हाल्नुहुने छ ।प्रधानसेनापति शर्माले यसअघि कात्तिक २३ देखि २६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुभएको थियो। प्रधानसेनापति भएपछि पहिलो विदेश भ्रमण गरेका उहाँले त्यस बेला भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाल र भारतको सैनिक परम्पराअनुसार भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिन्ह लगाउनुभएको थियो । ekantipurको सहयोगमा