एमालेको जिल्ला अधिवेशन पुस २३ गते

काठमाडौँ । नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने भएको छ। दशौं महाधिवेशनपछि एमालले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो। पहिला जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न लागेको हो।

एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानी)मा पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गरिसक्नु पर्ने उल्लेख थियो। सोही निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको एमालेले जनाएको छ। एमालेका अधिकांश जिल्लाको अधिवेशन तयारी पूरा भएकाले २३ गते उद्घाटन र पुष २४ गते नेतृत्व चयन गरिने बताइएको छ।

अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र जिल्लाको व्यवस्थापनको तयारी समेत सकेको एमाले केन्द्रमा रिपोर्टिङ आएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो। ‘एकाध हिमाली जिल्ला बाहेक सबै जिल्लामा एक साथ अधिवेशन सम्पन्न हुनेछ,’ विभागका उपप्रमुख रिजालले भन्नुभयो।एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिएको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले मातहत कमिटीलाई निर्देशन गरेको हो।

पुस २३ गते हुने जिल्ला अधिवेशन तथा माघ ८ मा हुने प्रदेश अधिवेशका लागि केन्द्रीय कार्यालयको तर्फबाट पठाइएको लिखित मापदण्डअनुसार निर्वाचनको प्रक्रियामा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अवलम्बन गर्न भनिएको छ। जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ।

मौसमका कारण कतिपय हिमाली जिल्लामा अधिवेशन गर्न असम्भव भएमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ। मनाङ, मुस्ताङ, डोल्पा, हुम्लासहित केही जिल्लामा भने केन्द्रीय कार्यालयको परामर्शमा अधिवेशन हुनेछ। अन्य जिल्लामा २३ गते नै जिल्ला अधिवेशन तयारी भएको छ। दशौं महाधिवेशनपछि जिम्मेवारी पाएका केन्द्रीय सदस्यहरू अहिले जिल्ला अधिवेशनको तयारीमा जिल्ला जिल्लामै रहेका छन्। उनीहरूकै निर्देशनमा जिल्ला अध्यक्ष र जिल्ला कमिटीहरूले काम गरिरहेको एमालेले जनाएको छ।

एमालेको जिल्ला अधिवेशन सकिएको लगत्तै सात वटै प्रदेश सम्पर्क कमिटीको अधिवेशन हुने भएको छ। सो अधिवेशनबाट पनि नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ। पुस ३० गते प्रदेश सम्पर्क कमिटीको अधिवेशन हुने एमालेले जनाएको छ। त्यसका लागि प्रतिनिधि छनोट गर्न मातहतका कमिटीलाई निर्देशन दिइसेकेको छ। त्यसैगरी माघ ८ गते प्रदेश संगठन कमिटीको अधिवेशन हुने भएको छ। पुस २३ गते जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालले जनाएको छ।

यससँगै एमालले त्यसमूनिका कमिटीहरूको पनि अधिवेशन तीव्र रूपमा थालेको छ। माघ २२ गते सम्पर्क मञ्चहरूको सम्मेलन तथा त्यही क्रममा जनवर्गीय संगठनहरूको सम्मेलन गर्ने पनि तयारी गरेको छ। अहिले एमाले पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले देशभर अधिवेशन गरिरहेको छ। धेरैजसो जिल्लामा अधिवेशन सकिएको चौतारीले जनाएको छ। प्रेस चौतारीको पनि माघमै सम्मेलन गर्ने तयारी गरेको छ। त्यस्तै विद्यार्थी, महिला लगायतका जनवर्गीय संगठनहरूले पनि जिल्ला अधिवेशन गरिरहेका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार