विधानसम्मत केन्द्रीय सदस्य निर्वाचित भएको हुँ : विनोद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका विनोद चौधरीले आफू विधानअनुसार नै केन्द्रीय सदस्य भएको बताउनुभएको छ । निर्वाचनको सबै प्रक्रिया पूरा गरेर विधानअनुसार नै आफू महाधिवेशनमा निर्वाचित भएको उहाँको भनाइ छ।

केन्द्रीय सदस्य हुन १० वर्ष पार्टीमा निरन्तर क्रियाशील रहनुपर्ने भए पनि सो अवधि नपुगेका चौधरी केन्द्रीय सदस्य बनेको दाबीसहित सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभासचन्द्र यादवले निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो । आफूविरूद्ध उजुरी परेपछि चौधरीले प्रतिक्रिया दिँदै निर्वाचन हारेपछि निर्वाचनकै प्रक्रियामा प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको बताउनुभएको छ ।

महाधिवेशनका बेला निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दाबी विरोधका लागि समय दिएको थियो । म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएनरु,’ चौधरीको प्रश्न छ।यादव सोही निर्वाचनमा उम्मदेवार रहेको र विजयी हुन नसकेपछि विधिसम्मत भएन भन्ने गरेको उहाँको भनाइ छ।

‘आफैँ सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैन,’ उहाँले भन्नुभयो । चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) २२०६ मतसहित निर्वाचित हुनुभएको थियो । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित हुनुभएको थियो । निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाउनुभएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार