कमल थापा बाहिरिएपछि संगठन सुदृढीकरणमा जोड दिँदै राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ । पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । जसअनुसार पार्टीको विस्तारित बैठक हुन बाँकी प्रदेशहरूमा विस्तारित बैठक गरिनेछ भने आगामी फागुनदेखि ७७ वटै जिल्लामा सानाठूला २०० भन्दा बढी आमसभा तथा सभाहरू गर्ने तयारी गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै अध्यक्ष राजेन्द्र लिङ्देनले संगठनलाई चलायमान र मजबुत बनाउन देश दौडाहा पनि गर्नुहुनेछ। जसअनुसार शुक्रबार अध्यक्ष लिङ्देन गृह जिल्ला झापाका लागि प्रस्थान गर्ने कार्यक्रम छ । सो क्रममा लिङ्देनले झापामा आयोजित पार्टी प्रवेश कार्यक्रम र प्रदेश १ का नेता कार्यकर्ता भेटघाट र बैठकहरूमा सहभागी हुनुहुनेछ । उसो त राप्रपा परित्याग गर्नुभएका कमल थापाले पनि देश दौडाहा थालिसक्नुभएको छ । सोहीअनुसार थापा पनि प्रदेश नम्बर १ कै जिल्ला भ्रमणमा रहनुभएको छ ।

गत मङ्सिर दोस्रो साता अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले समान विचारधारा र एजेण्डा बोकेका पार्टी, संघसंगठन र व्यक्तिसँग एकता वा सहकार्य गर्ने बताउनुभएको थियो । त्यसयता विवेकशील साझा पार्टीसँग लिङ्देनले वार्ता गरेको भए पनि खासै प्रगति भने देखिँदैन । यहीबीचमा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले स्थानीय तहलक्षित अभियानलाई सशक्त बनाउने निर्णय बैठकले गरिसकेको छ ।

श्रेष्ठका अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजनाबारे छलफल भएको थियो । जसअनुसार पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरूक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका छन् ।

लिङ्देन समूहले कमल थापाले पार्टी छाडेर गम्भीर भूल गरेको निष्कर्ष निकाल्दै यसबारे भण्डाफोर गर्ने समेत जनाएको छ । ‘स्पोर्टस्म्यान स्प्रिट भन्ने तर आफै शक्तिमा रहनुपर्छ भन्ने सोच उहाँमा देखियो । निर्वाचनको परिणामलाई क्षतविक्षत बनाउने गम्भीर अपराध कमल थापाबाट भएको छ’, राप्रपाका एक नेताले भन्नुभयो । ३१ वर्षसम्म साथ लिएका लिङ्देनलाई कमल थापाले एक मिनेट पनि साथ नदिई निर्वाचनको परिणाम मत परिणाम घोषणाअघि नै थापाले परिस्थितिलाई गिजोलेका ती नेताको आरोप छ । थापाले मंगलबार राप्रपा परित्याग गरेका थिए भने उहाँले नयाँ पार्टी दर्ताको पहल थाल्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार