तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमाले संसदीय दलको निर्णय

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले तत्काल काउन्टर महाअभियोग नल्याउने निर्णय गरेको छ ।संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सभामुख र सर्वोच्चका न्यायाधीश विरुद्ध काउन्टर महाअभियोग नल्याउने निर्णय गरेको हो ।

अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मेवारी उच्च तहका नेताहरुलाई दिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा एमसीसीका विषयमा समेत छलफल भएको थियो । सत्तारुढ दलहरुबीच मै मत बाझिएका बेला आफूहरुले कुनै निर्णय नगरेको नेता भट्टराईको भनाइ थियो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव टार्ने र एमसीसी पास गर्ने मनसायका साथ महाअभियोग आएको बताउनुभएको थियो । ओलीको भनाइ थियो, ‘चोलेन्द्रविरुद्ध आएको महअभियोग स्थानीय चुनावलाई टार्ने, एमसीसीलाई पारित गर्ने र लोकतन्त्रमाथि हमला गर्ने मनसायका साथ आएका हुन् ।’

भट्टराईले चोलेन्द्र ठीक भन्ने पक्षमा आफूहरू नरहेको भए पनि अहिलेको महाअभियोग जसरी आयो त्यसको आफूहरूले सडक र संसदबाट प्रतिवाद गर्ने बताउनुभयो । सांसदहरुको हस्ताक्षर संकलन भने गरिराखेको उहाँले जानकारी दिनुभयो । आवश्यकता अनुसार नेतृत्वले गरेको निर्णयमा साथ दिन हस्ताक्षर संकलन गरिएको हो । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार