व्यवसायीको दबावपछि बेनी बजारमा एक तर्फी यातायात हटाउने निर्णय

बेनी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हट्ने भएको छ । सोमबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा  बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । यो निर्णय संगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् । १४ मंसिरमा नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकले सवारी साधनको बढदो चाप संगै बेनी बजार भित्र हुने जाम हटाउने र सवारी आवतजावतलाई व्यवस्थित बनाउने विकल्प नभएपछि १ पुसदेखि एकतर्फी यातायात सुचारु गर्ने निर्णय गरेको थियो ।

सोमबार बसेको सरोकारवालाहरुको बैठकले गरेको निर्णय

नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो । व्यवसायीको दबावपछि यस अघि भएको निर्णय उल्ट्याइएको बैठकमा सहभागि एक सदस्यले बताउनुभयो । ‘सिमित व्यक्तीको निहित स्वार्थको लागि कार्यान्वयनमा आएको एकतर्फी यातायात हटाउने निर्णय भएको छ,’ति सदस्यले भन्नुभयो ।

भिडिओ हेर्नुहोस्

१४ मंसिर बसेको बैठकको निर्णय अनुसार १ पुसदेखि कार्यान्वयनमा आएको एकतर्फी यातायात संचालनले व्यवसायमा गम्भीर असर पारेको र थप असुविधा सिर्जना भएको भन्ने व्यवसायी र टोल सुधार समितिको माग अनुसार दुईतर्फी यातायात खुलाउने निर्णय भएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो । नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय ,जिल्ला ट्राफिक कार्यालय म्याग्दी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी बजार स्थित टोल सुधार समितिका पदाधिकारी बिच छलफल गरिएको थियो ।

जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपाली भने एकतर्फी यातायात हटाउने बिषयमा असहमति जनाउँदै बैठकबाट बाहिरीनुभएको थियो । बैठकमा व्यवसायीहरुले यस अघि बैठकबाट भएको निर्णय फिर्ता लिन माग गरेपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले एकतर्फी यातायात संचालनमा आएपछि सवारी साधनको बढ्दो चापसँगै साँघुरो सडकका कारण बजारभित्र हुने जाम हटेको,यातायात आवतजावतमा सहज ,सुरक्षित र दुर्घटना न्यूनीकरण भएकोले यथावत राख्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले यस अघि सरोकारवालाको संयुक्त बैठकले गरेको निर्णयलाई उल्ट्याउन नहुने धारणा राख्नुभएको थियो ।

१४ मंसिरमा बसेको सरोकारवालाहरुको बैठकले गरेका निर्णय

बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुनः क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्दै आएका छन् । साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो ।स्थानीय बजार बासीले पनि एकतर्फी यातायात संचालन आएपछि सहज भएको बताएका छन् । स्थानीय हरिप्रसाद पौडेलले एकतर्फी यातायात सञ्चालनमा आएपछि दुर्घटना न्युनिकरण कम हुनुका साथै सवारी आवतजावत र पैदलयात्रुलाई सहज भएको बताउनुभयो । व्यवसायी डिपी शर्माले एकतर्फी यातायात संञ्चालन सकरात्मक भएपनि साना व्यवसायी भने मारमा परेको गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार