काँग्रेस मकवानपुरमा सभापतिका उम्मेदवार बढ्दै, उपसभापतिमा ९ जनाको दावी

मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको जिल्लाको अधिवेशन फागुन १५ गतेका लागि तोकिएको छ । विगत ३ वटा मिति तोकिएको भएपनि आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन सर्दै आएको थियो ।

यसअघि माघ १३ गतेका लागि तोकिएको जिल्ला अधिवेशन पुनः २ दिन सारिएको थियो । अधिवेशनका मिति तय भएसँगै काँग्रेसमा उम्मेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । काँग्रेसलाई बलियो र गुटरहित बनाउने भन्दै काँग्रेसको विभिन्न पदहरुमा उम्मेदवारी घोषणा भइरहेको छ । काँग्रेस मकवानपुरको नेतृत्वको लागि सभापति पदमा पनि उम्मेदवारी घोषणा गर्नेको संख्यामा वृद्धि आएको छ ।

सभापति पदमा यसअघि ३ जना मात्र दावेदारी रहेकोमा हाल सो संख्या बढेर ५ पुगेको छ । काँग्रेस मकवानपुरको नेतृत्वको लागि संस्थापन र इतर पक्ष गरी ५ जनाको उम्मेदवारी घोषणा भइसकेको छ । मकवानपुर जिल्लामा पछिल्लो समय संस्थापन पक्ष अर्थात प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पक्ष हावी रहेको छ । अधिवेशन नजिकिँदै जाँदा संस्थापन पक्षबाट सभापति पदमा ३ जनाले आकांक्षा देखाएका छन् । जसको कारणले गर्दा मकवानपुरमा कांग्रेसको संस्थापन पक्ष तितरवितर हुने संकेत देखिएको छ ।

संस्थापन पक्षबाट हालसम्म पार्टी सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका पूर्व नगर सभापति आनन्दराम पराजुली तथा हालका कार्यबाहक सभापति विष्णु लामिछानेले सभापति पदमा दावी गरिरहेका छन् । लामिछानेले आफ्नो पक्षमा सर्वसम्मत जुट्ने दावी गरिरहेका छन् भने लामा र पराजुली प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढेर निर्वाचन जान पूर्णरुपमा तयार भएको बताउँदै आएका छन् । लामिछाने कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ देउवा गुटकै हुन् ।

लामा र पराजुलीले लामो समयदेखि सम्पर्क कार्यालय खोलेर आफ्नो प्रचार प्रसारमा जुटिसकेका छन् । जिल्लामा कांग्रेसको प्रभाव बढ्दो अवस्थामा रहेका कारण नेतृत्वमा आफू पुग्नु पर्ने दावी उनीहरुको रहेको छ । त्यसै प्रकाश मान सिंह निकट रहेको नेपाल विद्यार्थी संघका नेता प्रभात कुमार दाहालले पनि सभापति पदमा आकांक्षा व्यक्त गरेका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्र तहमा सिंह र प्रधानमन्त्री देउवा बीच सहकार्य भएपछि जिल्लामा सभापति आपूmले पाउनु पर्ने भन्दै आकाँक्षा व्यक्त गरेका हुन् ।

त्यसो त दाहाल मकवानपुर काँग्रेसको भित्र युवा पिँढीले रुचाएका नेता हुन् । दाहाल काँग्रेसको १३ औं महाधिवेशन अन्तर्गत मकवानपुरको अधिवेशनमा पनि सभापतिका उम्मेदवार थिए । उनी पूर्व सभापति रघुरमण न्यौपाने र नेता बाँनियासंग निर्वाचन लडेका थिए । उनी नेता बानियाँसँग पराजित भएका थिए । यस संगै काँग्रेसको संस्थापन पक्षबाट नै सभापतिका लागि ४ जना उम्मेदवार हुने देखिएको छ ।

अधिवेशनमा संस्थापन इतरबाट जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । उनले सम्पर्क कार्यालय खोलिसकेका छन् भने प्रचार प्रसार र कार्यकर्ता भेटघाटलाई तिव्रता दिइरहेका छन् । उनी जिल्लामा संस्थापन इतर पक्षलाई स्थापित गरेर काँग्रेस गुट रहित बनाउने एजेण्डा बोकेर निर्वाचनमा जाने बताउँछन् । उनी कुनै पनि अवस्थामा आफू संस्थापन इतर पक्षको प्रतिनिधित्व गर्दै काँग्रेस मकवानपुरको सभापति पदमा निर्वाचित हुने धारणा व्यक्त गर्छन् ।

उपसभापतिमा ९ जनाको दावी
काँग्रेस मकवानपुरको नयाँ नेतृत्वका लागि सभापतिमा करिब ५ जनाले दावी गरिरहँदा उपसभापतिमा आधा दर्जनभन्दा बढीले आकांक्षा व्यक्त गरिरहेका छन् । कांग्रेस विधान अनुसार उपसभापति पद कार्यकारी नभएपनि दावेदारी भने करिब ९ जनाले गरेका हुन् ।

काँग्रेस उपसभापतिका लागि हालका सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्य रमेश गिरी, क्षेत्रीय सभापति तारानाथ चौलागाईं, पूर्व उपसभापति भीम लामा, पूर्व सहसचिव विष्णुराम प्रजा र पूर्वक्षेत्रीय सभापति धर्म लामिछानेको दावी रहेको छ ।हालसम्म उपसभापति पदमा दावेदारी प्रस्तुत गरेकाहरु कुन समूहबाट उम्मेदवार बन्ने भनेर अझै टुंगिएको छैन ।

सचिवमा ५ जनाको दावी
त्यस्तै नेपाली कांग्रेस मकवानपुरको सचिव पदका लागि ५ जनाले आकांक्षा व्यक्त गरेका छन् । जिल्ला सचिवमा यतिराज सापकोटा, भीमसेन महत, इश्वर पाठक, राजु खतिवडा र इश्वर पण्डितले आकांक्षा व्यक्त गरेका छन् । सापकोटा, खतिवडा र पण्डित संस्थापन पक्षधर हुन भने महत र पाठक संस्थापन इतर पक्षका उम्मेदवार हुन् ।

सापकोटा पार्टीका पूर्वक्षेत्रीय सभापति, महत जिल्ला सदस्य, पाठक तरुण दल मकवानपुर अध्यक्ष तथ खतिवडा नेविसंघ मकवानपुर अध्यक्ष तथा पण्डित पूर्वजिल्ला सदस्य हुन् । सापकोटाले खुलेरै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका आनन्दराम पराजुली र आफ्नो पक्षमा मत मागिसकेका छन् । पाठक पनि सभापतिका उम्मेदवारी घोषणा गरेका जयराम लामिछानेको पक्षमा माहौल सिर्जना गर्न घरदैलोमा पुगिरहेका छन् । महत, खतिवडा र पण्डितले भने सभापतिमा आफ्नो उम्मेदवार क्लिएर गरिसकेका छैनन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार