कपडा तथा फेन्सी व्यवसायीद्धारा आगोलागी पिडितलाई सहयोग

बेनी । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ । समितिमा आवद्ध व्यवसायीहरुबाट जिन्सी सामग्री संकलन गरेर उपलब्ध गराइएको हो ।

विद्युत सर्ट भएर आगोलागी हुँदा घर र त्यहाँ रहेका सबै सामान जलेपछि चार सदस्यीय दमाई परिवार छिमेकी आफन्तकहाँ आश्रयलिएर बसेका छन् । समितिका अध्यक्ष तुलसीनाथ सुबेदी (रामप्रसाद), उपाध्यक्ष तथा संयोजक दामोदर शर्माले दमाईलाई सामग्री र नगद हस्तान्तरण गर्नुभएको थियो । समितिका सचिब राजुप्रसाद सुबेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मानबअधिकार एलायन्स म्याग्दीका अध्यक्ष दिपक पौडेलले समितिले विपद् ब्यवस्थापनमा पु¥याएको योगदानप्रति धन्यवाद दिनुभयो ।

कार्यक्रममा समितिका कोषाध्यक्ष देवीप्रसाद शर्मा, सहसचिव इन्द्रप्रसाद सुवेदी, सदस्य भगवान शर्मा, साधारण सदस्य भविन्द्र घिमिरे र वेदप्रसाद अधिकारी लगायतको उपस्थिति थियो । समितिले गत माघ महिनामा बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडित रामचन्द्र खत्रीका परिवारलाई रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेको थियो । पहिरो पिडित, ज्ञानोदय माबिका दृष्टिबिहिन बिद्यार्थीलाई स्वास्थ्य सामग्री, झोला र जुत्ता, बगुवा खोलाका बौद्धिक अपाङ्ग बिद्यार्थीलाई कपडा सहयोग, बेनी नगरपालिकाका अशक्त बालबालिकालाई न्यानो कपडा बितरण, स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम र धार्मिक, पर्यटकीय स्थलको सरसफाई गरेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार