म्याग्दीमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो (फोटोफिचर)

म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा पनि आज (मङ्गलबार) विविध कार्यक्रमको आयोजना गरेर ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दीगो विकासको सुनिश्चितता’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजना, जिल्ला समन्वय समिति म्याग्दी र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको समन्वयमा महिला सम्मान तथा लठो तान्ने प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको हो ।



कार्यक्रमको अवसरमा विभिन्न कारणले विद्यालय उमेर समूहमा औपचारिक शिक्षा लिनबाट बञ्चित भएकाहरुले उज्यालो वैकल्पिक विद्यालय बेनीमा अध्ययन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका ९ जना महिलाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । यसैगरी कुल १० वटा महिला समूह सहभागी लठो तान्ने प्रतियोगिताबाट मंगला आमा समूह बेनी नगरपालिका–७ प्रथम र वडास्तरीय महिला सञ्जाल बेनपा–१० पात्लेखेत द्वितीय भएका छन् ।

त्यस्तै प्रतियोगितामा वडास्तरीय महिला सञ्जाल बेनपा–५ पुलाचौर तृतीय र वडास्तरीय महिला सञ्जाल बेनपा–८ बेनीबजार सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः नगद १० हजार, सातहजार, पाँचहजार र तीनहजार रुपैयाँले पुरस्कृत गरिएको थियो । लठो तान्ने समूहमा ५ जनाका दरले महिलाको सहभागिता रहेको थियो भने प्रतियोगिताको सञ्चालन बेनी नगरपालिकाका स्रोतव्यक्ति जयराम सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलाको आर्थिक समृद्धि, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउँदै महिला दिदीबहिनीहरु पार्टीको सदस्य मात्रै नबनेर सामाजिक तथा राजनीतिक क्षेत्रको नेतृत्व तहमा पुग्नुपर्ने बताउनुभयो । राजनीति क्षेत्रमा लाग्ने महिला नेताहरुले आफ्नो साथमा अरुलाई पनि अगाडि सार्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले समाज रुपान्तरणमा महिलाको भूमिका र जिम्मेवारी महत्वपूर्ण रहेकाले कसैलाई पनि विभेद गर्न नहुने बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, नेपाली कांग्रेसका जिल्ला उपसभापति केबि भण्डारी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, नेपाल महिला संघका अध्यक्ष बिमला गौचन, बह्माकुमारी राजयोग ईश्वरिय विश्वविद्यालय बेनीका सञ्चालिका रिना दिदी र वडास्तरीय महिला सञ्जाल घतानका अध्यक्ष रश्मी बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रम बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको अध्यक्षता, सहायक महिला विकास निरीक्षकद्वय डमसरा पुनको सञ्चालन र तुलसी पाईजाको स्वागतमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दी सदरमुकाम बेनीमा नवजागरण महिला नौमती बाजा समूह बेनपा–४, राक्सेको टोलीद्वारा पञ्चेबाजासहित विभिन्न संघसंस्थाले प्रभातफेरी गरेका थिए । पञ्चेबाजामा महिलाहरुले नाचगान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार