विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज बोल्दै काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताउनुभएको हो ।
‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ,’ देउवाले भन्नुभयो, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’
देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै उहाँले स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा सबै लाग्नुपर्ने बताउनुभयो ।प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गर्नुभएको छ । नवनिर्मित अस्पताल ३५ शैया क्षमताको छ । प्रधानमन्त्री देउवा आजै पाँचथर र ताप्लेजुङ पनि जाने कार्यक्रम छ । रातोपाटीबाट