विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

धनिलाल गर्बुजा
म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगका विरामी भेटिएका थिए ।

गत आर्थिक बर्षमा सबैभन्दा बढी पुरुष यो रोगबाट संक्रमित भएका छन् । ४८ जना मध्ये १४ जना महिला र बाँकी पुरुष रहेका स्वास्थ्य कार्यालय म्याग्दीका सुचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ,एक जनामा एचआईभी पोजेटिभ देखिएको थियो । यसैगरी चालु आर्थिक बर्षको फागुन सम्म ३० जना क्षय रोगका विरामी फेला परेका छन् । ३० जना मध्ये १५ जना पुरुष र १५ जना महिला रहेका सुचना अधिकारी सुवेदीले बताउनुभयो । गत बर्ष फेला परेका क्षयरोगका विरामी मध्ये ९० प्रतिशत निको भएका छन् ।

गत आर्थिक बर्षमा बेनी नगरपालिकामा २६ जना ,मंगला गाउँपालिकामा ५ जना ,धवलागिरी गाउँपालिकामा ३ जना, मालिका गाउँपालिकामा ७ जना ,अन्नपुर्ण गाउँपालिकामा ६ जना र रघुगंगा गाउँपालिकामा १ जना क्षयरोगका विरामी भेटिएका थिए । भने चालु आर्थिक बर्षको चैत्र महिना सम्म बेनी नगरपालिकामा १७ जना, मंगला गाउँपालिकामा ४ जना ,धवलागिरी गाउँपलिकामा २ जना, मालिका गाउँपालिकामा २ जना, अन्नपुर्ण गाउँपालिकामा ३ जना र रघुगंगा गाउँपालिकामा २ जनामा यो रोग फेला परेको छ । क्षयरोग थप फैलिन नदिन विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको सुचना अधिकारी सुवेदीले बताउनुभयो । विरामीको सम्पर्कमा आएका व्यक्तीलाई कन्ट्याक ट्रेसिङ गरिएको उहाँले जानकारी दिनुभयो ।

बेनी अस्पतालकी निमित्त सुपरीटेण्डेन्ट डाक्टर रुगमिना अधिकारीले नियमित औषधिको सेवन गरेमा क्षयरोग निको हुने बताउनुभयो । उहाँले म्याग्दी क्षयरोग संक्रमणको उच्च जोखिममा रहेकोले थप सजकता अपनाउन आग्रह गर्नुभयो । क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने उहाँले बताउनुभयो । क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन । फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग गरी दुई भागमा वर्गीकरण गर्न गरिएको छ ।

डाक्टर अधिकारीका अनुसार दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु ,शरीरको तौल घट्नु , खासगरी बेलुकापख ज्वरो आउनु ,छाति दुख्नु ,खाना अरुची हुनु ,खकारमा रगत देखिनु आदि क्षयरोगका लक्षणहरु हुन् । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालयका सुचना अधिकारी सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले क्षयरोग थप फैलिन नदिन सर्वसाधारणमा जनचेतना फैलाउने र स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार