निर्वाचनमा आचारसंहिता पालना होस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिनुभएको छ ।

आचारसंहिताको पूर्ण पालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचारसंहिता पालनामा सबैले ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो।

संविधानसभामार्फत संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकांक्षालाई मूर्तरूप दिन उनकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो सफल निर्वाचन गरेको थियो । उक्त निर्वाचनमा ७८.३४ प्रतिशत मतदान भएको थियो । पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, ‘नेपाली जनताको हित र समृद्धिमा संविधान कार्यान्वयन गर्दै अघि बढ्ने कार्यमा सबै लाग्नुपर्छ, विशेष गरी राजनीतिक दलको नेतृत्व वर्गको गहनतम दायित्व हो ।’

तीनै तह सङ्घ, प्रदेश र स्थानीय तह० को निर्वाचन गर्नुपर्ने भएकाले आगामी वर्षलाई निर्वाचन वर्षका रुपमा लिन सकिने उल्लेख गर्दै उहाँले जनताले चाहेका उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न तथा निर्वाचनमा जनसहभागिता, प्रतिस्पर्धा, स्वच्छता, विश्वसनीयता कायम गर्ने वातावरण बनाउनु सबैको पहिलो कर्तव्य भएको बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, ‘प्रजातन्त्रमा जनताको मताधिकार सुरक्षित हुनुपर्छ, त्यो बनाउनु सरकार, राजनीतिक दल र उम्मेदवारको कर्तव्य हो । दलले संयमतापूर्वक मनोमालिन्यरहित वातावरण बनाउन प्रयत्न गर्नुपर्छ, निर्वाचन आयोगले पनि स–साना विषयमा समेत दलका बीचमा परामर्श गरी अघि बढेमा निर्वाचन प्रतिको आस्था र विश्वास जित्न सकिन्छ भन्ने लाग्छ ।’

निर्वाचनमा मत हाल्ने जनता र राजनीतिक दलका बीचमा निर्वाचन प्रतिको आस्था र विश्वासलाई डगमगाउन नदिने वातावरण राज्यका सबै निकायबाट हुन जरुरी रहेको बताउँदै उनले निर्वाचनमा केही कसैबाट कहीँकतै कमी कमजोरी र भुलचुक हुन दिन नहुने बताउनुभयो ।निर्वाचनको वातावरण र परिस्थिति निर्माणले नै मतदाताको व्यापक सहभागिता निर्वाचन गर्न सकिने जनाउँदै

पूर्व प्रधानन्यायाधीश रेग्मीले भन्नुभयो, ‘आगामी निर्वाचनमा सही गन्तव्य, सही परिवेश, सही परिस्थिति, सही वातावरण निर्माण गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदानमार्फत निष्कलङ्क, कर्मशील र निष्ठावान् व्यक्तिको चयन भएमात्र अनि देशले विकासलगायत हरेक क्षेत्रमा फड्को मार्छ भन्ने मलाई विश्वास छ ।’

पूर्वअध्यक्ष रेग्मीले आगामी निर्वाचनसँगै स्थानीय तह नयाँ चरणमा प्रवेश गर्ने भएकाले जनताका विकास र समृद्धिका चाहनालाई सम्बोधन गर्न स्थानीय तहबाटै जनताले सेवा सुविधा र प्रतिफल पाउने गरी संवेदनशील भई काम गर्न आउने जनप्रतिनिधिलाई सुझाव दिनुभयो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार