शिव आधारभुत विद्यालयका पुर्व प्रअ घर्ति मगर र उत्कृष्ट दुई विद्यार्थी सम्मानित (तस्बिरहरु)

बेनी । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ का समाजसेवी एवं सोही वडाको अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुल घर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

सोमबार सिद्धार्थ माविद्धारा आयोजित एक कार्यक्रमका विच फाउण्डेशनले पुर्व प्रअ एवं समाजसेवी घर्ति मगरलाई दश हजार रुपैयाँ र प्रमाणपत्र तथा कक्षा दशमा अध्ययनरत छात्रतर्फ हिमाल घर्ति मगर र छात्रातर्फ दर्पना घर्ति मगरलाई उत्कृष्ट विद्यार्थीको रुपमा जनही पाँच/पाँच हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरेको हो । घर्ति मगरलाई वडाको शैक्षिक सुधार सहित समाजिक क्षेत्रमा पु¥याएको योगदानको आधारमा सम्मान गरिएको फाउण्डेशनले जनाएको छ ।

उक्त पुरस्कार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन ,फाउण्डेशनका अभिभावक नरबहादुर चोचाङ्गी र विद्यालयका प्रअ ललितबहादुर घर्ति मगरले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको शिक्षक छकप्रसाद घर्ति मगरले जानकारी दिनुभयो । साथै फाउण्डेशनले विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेको छ । फाण्डेशनले यस अघि पनि विभिन्न क्षेत्रका व्यक्तीहरुलाई सम्मान गर्दै आइरहेको छ । समाजसेवीद्धय बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुनद्धारा स्थापित फाण्डेशनले विक्रम संवत २०७३ सालदेखी हरेक बर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तीहरुलाई नगद सहित सम्मान गर्दै आइरहेको छ ।

विक्रम संवत २०३५ सालदेखी शिक्षण सेवा सुरु गर्नुभएका घर्ति मगरले सोही वडाको खबाङ आधारभुत विद्यालय ,ओखबोट मावि र शिव आधारभुत विद्यालयमा प्रअको रुपमा अध्यापन गराउनुभएको थियो । केही समय अघि मात्र अवकाश प्राप्त घर्ति मगर सामाजिक काममा सक्रिय हुनुहुन्छ ।

त्यसैगरी सोही कार्यक्रमको अवसरमा स्वर्गिय मनमाया घर्ति मगरको स्मृतीमा छोराहरु गोकुल घर्ति मगर ,दलकुमार घर्ति मगर , प्रेम बहादुर घर्ति मगर र छोरी लाली थापा मगरले विद्यालयको सिद्धार्थ मावि अक्षयकोषलाई एक लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

उक्त रकम विद्यालयका प्रअ ललितबहादुर घर्ति मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनलाई हस्तारण गरिएको हो । शिक्षक प्रदिप पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन छकप्रसाद घर्ति मगरले गर्नुभएको थियो । अक्षयकोषलाई अहिलेसम्म बीस लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । विद्यालयमा एक सय ७० बढी विद्यार्थी अध्ययनरत छन् ।

तस्बिर सौजन्य : शिक्षक जिवनकुमार पुन मगर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार