![](https://myagdinews.com/wp-content/uploads/2021/11/nanda-bahadur-pun.jpg)
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।
‘मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ’, उहाँले भन्नुभयो । लोकतन्त्र स्थापनका लागि सामाजिक सङ्घसंस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गर्नुभयो।
झण्डै ५० हजारको हाराहारीमा रहेका सामाजिक संघसंस्थाले आफ्नो ठाउँबाट समाजको लागि केही न केही उल्लेखनीय काम गरेको उहाँको भनाइ थियो ।कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको बताउनुभयो । ‘युवा र व्यवसायीले केही गर्नुपर्छ भन्ने सोच राख्ने हो भने देशको विकास हुन केही समय लाग्दैन’, उहाँले भन्नुभयो । मन्त्री गहतराजले यस वर्ष निर्वाचनको वर्ष भएकाले नागरिकलाई सचेत र जिम्मेवार भएर मतदान गर्नसमेत आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका नेता एवं सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले आगामी वर्ष निर्वाचनको वर्ष भएकाले निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघसंस्थाले नजिक बनाएको बताउनुभयो । सोही अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । रासस