सामन्ती निरंकुशतावादी तत्व सल्बलाउने चेष्टा गर्दैछ : जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले जनतामा निराशा बढिरहेको अवस्थामा सामन्ती र निरंकुश शक्ति सल्बलाउन लागेको जनाएको छ । स्थानीय तहका लागि तयार पारिएको घोषणापत्रमा यस्तो उल्लेख गरिएको हो । आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा मुलुकको शासन सत्ताबाट बिदा भइसकेको शक्ति फेरि भ्रम फैलाएर सल्बलाएको जसपाको आरोप छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत शीर्ष नेताहरूले सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ‘मुलुकको आर्थिक वृद्धि न्यून हुन पुग्नुका साथै आर्थिक असमानता, बेरोजगारी, सामाजिक विभेद, सीमान्तकृत समुदायको बहिष्करण, लोकतन्त्रको संकुचन जस्ता समस्या दिनानुदिन बढिरहहेका हुन् । यसले गर्दा जनसमुदायमा निराशा बढेको छ ।’

जसपाको घोषणापत्रमा लेखिएको छ, ‘यही मौका देखेर देशमा यदाकदा सामन्ती निरंकुशतावादी तत्व सल्बलाउने चेष्टा गर्दैछ । इतिहासको रंगमञ्चबाट बिदा भइसकेका यस्ता तत्वहरूले अनेक झुठा र भ्रमपूर्ण तर्क अघि सार्दै लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतालाई बदनाम गर्ने षड्यन्त्र गर्दै आएका छन् ।’

जसपाले कसले षड्यन्त्र गरेको भन्ने स्पष्ट उल्लेख नगरे पनि पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय जारी गरेका विज्ञप्ति र गरिरहेका गतिविधिप्रति लक्षित गरेको देखिन्छ । पूर्वराजा शाहले नयाँ वर्ष २०७९ को अवसरमा जारी गरेको विज्ञप्तिमा संघीयता, गणतन्त्र र वर्तमान राजनीतिक वातावरणको आलोचना गरिएको थियो ।

मुलुकमा उक्त प्रवृति बढ्दै गएको भन्दै जसपाले त्यसको अन्त्य गर्नका लागि वैज्ञानिक समाजवादी चिन्तन पद्दति र परम्पराको सृजनशील विकासमार्फत विचारधारात्मक शून्यता र संकटलाई चिर्नुपर्ने उल्लेख गरेको छ । जसपाले संघीयतालाई बलियो बनाउनुपर्ने उल्लेख गरेको छ । जसपाले आर्थिक समावेशिता, पहिचानको मान्यता र बहुसंस्कृतिवादलाई प्रत्याभूत गर्न सक्ने राजनीतिक शक्तिको विकास अपरिहार्य भएको जनाएको छ । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार