इमान्दार साथीहरूमाथि पार्टीले गरेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ : घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउनुभएको छ । पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय हुने गरी पैसा र गुटको शक्तिका आधारमा कांग्रेसले उम्मेदवार चयन गरेको उहाँको आरोप छ।

उहाँले स्थानीय चुनावपछि सक्रिय राजनीतिबाट बिदा लिनेबारे आफूले सोच बनाएको पनि बताए।‘सक्रिय राजनीतिबाट बिदा लिऔं कि भन्ने लागेको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तह चुनावपछि यसबारे निर्णय लिन्छु।’उहाँले पार्टीका केही राम्रा साथीहरूले स्थानीय चुनावमा टिकट पाएकोले उनीहरूलाई स्थानीय चुनावमा सहयोग गर्ने पनि बताउनुभएको छ ।

घिमिरे कांग्रेस महाधिवेशनमा प्रदेश नम्बर १ को सभापति पदमा दुई भोट नपुगेर पराजित हुनुभएको थियो । हालै टिकट वितरण गर्न बसेको प्रदेश नम्बर १ पार्टी संसदीय समिति बैठकबाट पनि उशाँ असन्तुष्टि जनाउँदै बाहिरिनुभएको थियो । घिमिरेले उम्मेदवार छनौट गर्दा पार्टीले इमान्दार नेतारकार्यकर्तालाई अन्याय गरेको बताउनुभएको छ ।

‘पद्धतिगत र विधिवत ढंगले टिकट वितरण भएन। धेरै साथीहरूलाई यसबाट अन्याय भएको छ,’ उहाँले भन्नुभयो, ‘केही राम्रा साथीहरूले पनि अवसर पाउनुभएके छ । तर पार्टीका धेरै साथीलाई पहुँच, पैसा, शक्ति र दादागिरीका आधारमा टिकट दिइएको छ।’कांग्रेसजस्तो ठूलो र धेरै नेता भएका पार्टीमा कार्यकर्तामाथि अन्याय भयो भनेर बोलिदिने एक जना पनि नदेखिएको उहाँले बताउनुभयो।

‘बिपी कोइरालाले नै भन्नुभएको थियो–पार्टीमा अन्याय हुँदा टुलुटुलु हेरेर बस्नु भनेको दासता हो,’ उहाँले भन्नुभयो, ‘आज बिहान उठ्नेवित्तिकै मैले बिपीका कुरा सम्झेँ। यस्तो अन्याय राजनीतिको म निरन्तर साझी भएर किन बस्ने ?’उहाँले स्थानीय निर्वाचनसम्म राम्रा साथीका प्रचारमा जुट्ने पनि बताउनुभयो। ‘स्थानीय निर्वाचनपछि सक्रिय राजनीति छाड्ने कि भन्ने एउटा सोच आयो,’ उहाँले भन्नुभयो, ‘निर्वाचनभर म राम्रा साथीलाई मद्दत गर्छु। अहिले निष्कृय हुँदा राम्रा साथीलाई अन्याय होला।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार