जनताले मलाई मोहर लगाइसके : मनोज साह

जनकपुर । सत्तारुढ गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको टिकट दिएपछि मनोज साहले नेपाली कांग्रेस त्यागेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बनेर दोस्रो धेरै ११ हजार १६४ मत पाएका उनी माध्यमिक तहको विद्यार्थी हुँदादेखि नै कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनलगत्तै नेपाली कांग्रेसको वडा सभापति बनेका उनी पार्टीको १३औं र १४औं अधिवेशनबाट दुई पटक जनकपुरधाम उपमहानगरपालिका सभापति बन्नुभयो ।

२०४५ देखि अलिकति पनि विचलित नभइकन कांग्रेसमा लागिरहेको, राजनीतिकै कारण पढ्न पनि नपाएको, एसएलसी गरेर काठमाडौं पढ्न जाँदा पार्टीले २०४६ सालको आन्दोलन चर्काउन जनकपुर नै पठाएको उहाँ बताउँनुहुन्छ । जनकपुरकै रामसागर रामस्वरुप .रारां बहुमुखी क्याम्पसबाट आईए उत्तीर्ण साह पूरा जीवन नेपाली कांग्रेसको राजनीतिसँगै स्थानीय विकास निर्माण र सामाजिक द्वन्द्व न्यूनीकरणमा बिताएको बताउँनुहुन्छ ।

‘यी सब कामहरूले गर्दा जनकपुरवासीले मेरो उम्मेदवारीमा मोहर लगाइसकेका छन्,’ नेपाली कांग्रेसका विद्रोही मनोज साह भन्नुहुन्छ, ‘यहाँका जनताले गठबन्धनलाई स्वीकार गरेकै छैनन्, मेरै जीत सुनिश्चित छ ।’ गठबन्धनको आम सभामा जनकपुरका ५ प्रतिशत जनता पनि नगएर त्यो गलत छ भनेर सावित गरिदिएको बताउँदै उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको उम्मेदवार मनोज साहलाई जिताउँदा कुनै प्रकारको प्रलोभन र दबावमा नपरी काम गर्ने कुरामा जनकपुरवासी विश्वस्त छन् ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार