नेकपा फुट्यो, असन्तुष्ट समूहले चन्दलाई महासचिवबाट हटायो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट नेत्रविक्रम चन्द हटाइएका छन् । चितवनको पर्सामा बुधबारबाट सुरु भएको पार्टीका असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधरको राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने निर्णय गरेको हो ।

उक्त समूहका नेता गुणराज लोहनीले स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर महासचिवबाट चन्दलाई हटाइएको बताउनुभयो । ‘केन्द्रीय समितिका सदस्यहरूलाई उठाएको र एमसीसी पक्षधरहरू एमाले र कांग्रेससँग चुनावी गठबन्धन गरेकाले हटाइएको हो,’ उहाँले भन्नुभयो ।

राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलालाई तोकेको पनि लोहनीले बताउनुभयो । उहाँले ६४ सदस्यीय केन्द्रीय समिति र ४ सदस्य रहेको सल्लाहकार गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ३८ जना भेलामा उपस्थित रहेको जानकारी दिनुभयो । त्यस्तै पार्टी प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई हटाइएको छ । केही दिन पहिले चन्दले धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको जम्मेवारीबाट मुक्त गर्नुभएको थियो । चुनावमा भाग लिएको विषयमा पार्टी निर्णयविपरीत वक्तव्य निकालेको भन्दै उहाँले दुवै नेताको जिम्मेवारी खोस्नुभएको थियो। ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार