एमालेको चाहना हिंसारहित, शान्त र न्यायपूर्ण समाज : अध्यक्ष ओली

इलाम । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल माङ्सेबुङस्थित लारुम्बाको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

किरात धर्म धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा आएका ओलीले त्यहाँ आज (बुधबार) आयोजित समारोहमा यस क्षेत्रको विकासका लागि आफ्नो पार्टी एमाले सधैं चिन्तनशील रहेको बताउनुभयो ‘किरात धर्मगुरुले जुन पवित्र मनले काम गरिरहनुभएको छ, हाम्रो पार्टीको पनि उद्देश्य समाजलाई हिंसारहित, शान्त र विकसित बनाउने नै हो,’ ओलीले भन्नुभयो, ‘गुरुको आशीर्वाद हाम्रा उम्मेदवारले पाउने छन्, त्यसपछि यो क्षेत्रको विकासमा अझ अघि बढ्ने अवसर हामीलाई हुनेछ।’

ओलीले यसअघि पनि एमाले नेतृत्वको सरकार भएका बेला यस धार्मिकस्थलका लागि पूर्वाधारका काम भएको स्मरण गराउनुभयो। ‘दमकबाट लारुम्बा हुँदै जाने सडकको स्तरोन्नतिको काम गर्दैगर्दा अहिले माई नगरको दानाबारीबाट फेरि यहाँ आइपुग्ने सडकको काम हुँदैछ,’ उहाँले भन्नुभयो, ‘यस क्षेत्रको विकास सन्दर्भमा यही क्षेत्रका प्रतिनिधि सुवासचन्द्र नेम्बाङले पनि मलाई धेरै कुरा भन्नुभएको छ, भन्नुहुनेछ। हामी यहाँका आवश्यकता, समस्या निराकरणमा सदैव प्रयत्नशील छौं।’

ओलीले यो धार्मिकस्थलले मानवजातिको कल्याण, शान्तिको चाहना, न्यायपूर्ण समाज र मानिसलाई दुःखबाट छुटकाराका लागि सकारात्मक काम गरिरहेको भन्दै एमालेको चाहना पनि त्यही भएको बताउनुभयो। ‘एमालेले पनि मानिसलाई दुुःख, अभावबाट मुक्ति दिन चाहेको हो, शान्ति र विकासको मामलामा एक स्टेप अघि बढ्न चाहेको हो,’ उहाँले भन्नुभयो, ‘यी कामका लागि हामीलाई पनि गुरुबाट पक्कै आशीर्वचन प्राप्त हुनेछ।’उहाँले आफूहरू सबै मिलेर यो क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभयो।

‘म अहिले चुनावका बेला आएकाले कुनै राजनीतिक स्वार्थले आयो कि भन्ने लाग्छ सक्छ, त्यस्तो बुझ्न हुँदैन,’ उहाँले भन्नुभयो, ‘म गुरुको जन्मोत्सव र अरूबेला पनि यहाँ आउँछु, हामी आउँछौं, म गुरुको दर्शन गर्न आएको हुँ।’त्यसअघि ओलीलाई धर्मगुरुको सचिवालयले स्वागत गरेको छ। ओलीसँग पार्टी उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङलगायतका एमाले नेता–कार्यकर्ता सहभागी छन्। लारुम्बा जान ओली हिजो (मङ्गलबार) झापा आउनुभएके भएको थियो । आज झापाबाट उहाँ लारुम्बा आउनुभएको हो । लारुम्बाट फर्केर माई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरी ओली पुनः झापासम्म पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार