कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष

तनहुँ । स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी हुनुभएको हो ।

तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गर्नुभयो । वडा सदस्यामा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ । खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्यमा सावित्रि सुनारले ७५१ मत ल्याएर विजयी हुनुभएको छ ।

यसपालि भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा हालसम्म वडाध्यक्षमा निर्वाचित हुने कान्छीमाया पहिलो हुनुहुन्छ । जिल्लाको १० स्थानीय तहको ८५ वडामा वडाध्यक्ष बन्नलाई ४०८ जनाले उम्मेद्वारी दिएकामा महिला १७ जना मात्र छन् । तिमध्ये जित हासिल गर्ने उहाँ पहिलो हुनुहुन्छ । २०६२ सालदेखि परिवर्तनशील महिला सामुदायिक विकास संस्था सञ्चालन गर्नुभएको उहाँले विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै महिला सशक्तिकरणलाई जोड दिदै काम गर्ने बताउनुभयो।

‘युवाहरूसँग मिलेर काम गर्ने योजना छ । पशुपालन र कृषिलाई व्यावसायीकरण गर्नेछु’, उहाँले अगाडी थप्दै भन्नुभयो, ‘सुकुम्बासीको समस्या समाधान गर्न विशेष पहल गर्नेछु ।’२०७४ सालमा भएको स्थानीय निर्वाचनमा जिल्लाको ऋषिङ गाउँपालिका–८ मा नेपाली कांग्रेसकी भविसरा आलेले निर्वाचित हुनुभएको थियो । भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।

छ हजार २२८ मत गणना हुदाँ भानुको मेयरमा नेपाली कांग्रेसका आनन्द राज त्रिपाठी एक हजार ६८१ मतान्तरले अगाडी हुनुहुन्छ । उपमेयरमा कांग्रेसकी उमा गोतामे दुई हजार १०६ मतले अगाडि हुनुहुन्छ । त्रिपाठीले तीन हजार २०७ मत पाउनुभएको छ । नेकपा एमालेका सिताराम बगजाईंले एक हजार ५२६ मत पाउनुभएको छ । उपमेयरमा गोतामेको दुई हजार ७९२ मत आएको छ । एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेद्वारी दिएका केशरबहादुर गुरुङको ६८६ प्राप्त भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार