तथ्यांकले भन्छ- रेनुलाई भन्दा एमालेलाई धेरै क्षति गरे जगन्नाथले

चितवन । सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको भरतपुर महानगरपालिकामा पहिलो पाँच वडाको मतपरिणाम आउँदा एउटा चित्र प्रस्ट देखिएको छ। यी पाँचै वडामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २०७४ सालमा पार्टीकै उम्मेदवार देवी ज्ञवालीले भन्दा कम मत ल्याउनुभएको छ । पाँच वडाको कुल मत जोड्दा सुवेदीले ज्ञवालीभन्दा २०१४ मत कम ल्याउनुभएको छ।

माथिको ग्राफमा निलो धर्का पाँच वर्षअघि ज्ञवालीले ल्याएको मत हो भने रातो यसपालि सुवेदीले ल्याएको मत हो। मत गनिसकिएका प्रत्येक वडामा सुवेदीको मत ज्ञवालीको भन्दा तल छ।अर्कोतिर माओवादीकी रेनु दाहालले यी पाँच वडामध्ये तीन वडामा गएको चुनावमा भन्दा आफ्नो मत बढाउनुभयो । अरू दुइटा वडामा उनको पनि मत घट्यो।समग्रमा पाँच वडाको कुल मत जोड्दा रेनुले २०७४ सालको भन्दा २८ मत बढाउनुभयो ।

यसले गर्दा सुवेदीले भरतपुरको मेयर जित्न कठिन देखिन थालेको छ भने रेणुका लागि केही सहज देखिन थालेको छ।पाँच वर्षअघिको भन्दा भरतपुर महानगरको जनसंख्या धेरै बढेको छ। त्यो बेला एक लाख १२ हजारभन्दा बढी मत खसेको थियो भने यसपालि एक लाख २७ हजार मत खसेको छ। यसपालि खसेको मतको प्रतिशत भने कम छ। पाँच वर्षअघि ७५ प्रतिशत मत खसेको थियो। यसपालि ६९ प्रतिशत मात्रै खसेको छ।

यसपालि मतदाता थपिँदा पनि किन विजय सुवेदीले मत बढाउन सकेनन्रुत्यसका दुइटा कारण छन्। पहिलो र मुख्य कारण हुन् सत्ता गठबन्धनविरूद्ध बिद्रोह गरेर उम्मेदवार बनेका जगन्नाथ पौडेल।जगन्नाथले उम्मेदवारी दिएपछि गठबन्धनसँग असन्तुष्ट भएर रेनुलाई मत दिन नचाहेका कतिपय कांग्रेसी मतदाता भोट खसाल्न गएनन्। कतिपयले जगन्नाथलाई मत दिनुभयो।

पाँच वर्षअघि रेनुलाई समर्थन गरेर आफ्ना उम्मेदवार दिनेश कोइरालालाई अन्तिम समयमा फिर्ता लिन लगाएपछि रूस्ट बनेका कांग्रेसीले एमाले उम्मेदवार देवी ज्ञवालीलाई मत दिएका थिए। यसपालि कांग्रेसीले रेनुविरूद्ध रिस पोख्ने ठाउँ भुइँकटहर (जगन्नाथ) मा पाए। त्यसैले सूर्यमा मत खसालेनन्। जसका कारण १ देखि ५ सम्मका वडामा विजय सुवेदीले देवी ज्ञवालीको जति मत पाउन सकेनन्।

दोस्रो कारण, सुवेदीले आफ्नै प्रभावमा मत बढाउन सकेको देखिएन।जबकि रेणुले मत बढाएको देखिन्छ। जगन्नाथले यी पाँचै वडाबाट ठूलो संख्यामा कांग्रेसको मत लग्नुभएको छ । उहाँले यी वडामा जम्मा २७८८ मत ल्याउनुभएको छ । तर पनि रेनुले यी पाँच वडाको जम्मा मत जोड्दा यसपालि २०७४ सालको भन्दा २८ मत थप्नुभएको छ ।

जगन्नाथ नउठेका भए उहाँले पाउनुभएका २७८८ मत रेनु र सुवेदीमा कसरी बाँडिन्थ्यो वा यीमध्ये कति कांग्रेसी मतदाता मत खसाल्नै जाँदैन थिए, यकिन छैन। तर पाँच वर्षअघि देवी ज्ञवालीले पाएको मत हेर्दा यसपालि यी पाँच वडामा जगन्नाथले जसरी मत ल्याए, त्यसले एमाले उम्मेदवार सुवेदीलाई नै क्षति पुर्‍यायो।ज्ञवालीले पनि पाँच वर्षअघि आफूलाई आएको कांग्रेसी मत अहिले भुइँकटहरमा गएको देखिएको बताउनुभयो।

भरतपुर महानगरमा सबभन्दा धेरै भोट कांग्रेसको, त्यसकै हाराहारीमा एमालेको र तेस्रोमा माओवादी केन्द्रको छ। पहिलो र तेस्रो ठूलो पार्टी एक ठाउँमा उभिनेबित्तिकै एमालेलाई त्यसै पनि गाह्रो पर्छ। यस्तो बेला एमालेको एउटै आश भनेको कांग्रेसका रूस्ट मत तान्नु हो। पाँच वर्षअघि देवी ज्ञवालीले त्यही गर्नुभएको थियो । यसपालि जगन्नाथले कांग्रेसको धेरै मत आफूतिर ताने, साथै कांग्रेसी मत एमालेमा जानबाट पनि रोके। सायद त्यसैले नै विजय सुवेदीलाई जित्नबाट रोक्नेछ।

यहाँबाट अघि बढेर सुवेदीलाई भरतपुर महानगरको मेयर जित्न धेरै कठिन छ। किनकी पाँच वर्षअघि यी पाँच वडाको मत गनिसक्दा देवी ज्ञवालीले रेनुविरूद्ध १६६९ मतले अग्रता लिनुभएको थियो । तर पनि बाँकी रहेका वडाबाट रेनुले यो घाटा तिर्दै २०३ मतले जित्नुभएको थियो । यसपालि त यी पाँच वडाको मतगणना सकिँदा नै रेनुले ३७३ मतको अग्रता लिनुभएको छ ।

अहिलेसम्मको ट्रेन्डले व्यक्तिगत रूपमा मत तान्न सक्ने क्षमता पनि सुवेदीको भन्दा रेनुको नै धेरै देखिन्छ। त्यसले बाँकी रहेका वडाको कुल मत सुवेदीले भन्दा रेनुले नै धेरै ल्याउने सम्भावनातर्फ संकेत गर्छ।अहिले जारी वडा नम्बर ६ को मतगणनाले पनि त्यही संकेत गरिरहेको छ। यो वडामा अहिलेसम्म गनिएका मतमा रेनुले २०७१ मत ल्याउनुभएको छ भने सुवेदीले जम्मा ९८९ मत ल्याएका छन्। त्यसले गर्दा रेनुको सुवेदीसँगको मतान्तर १५ सयभन्दा धेरै पुगेको छ।

एमालेले वडा नम्बर १०, ११ र १२ अनि पश्चिम चितवनका १६, १७, १८, २३, २४, २७ लगायत वडामा राम्रो मत आउने आशा गरेको छ।गठबन्धन भने पाँच वर्षअघि नै आफूहरूले बाँकी वडामा धेरै मत ल्याएर जितेकाले यसपालि झनै आत्मविश्वासी देखिन्छ। पश्चिम चितवनमा विकास निर्माणका काम झनै धैरै भएकाले आफूहरूले यहाँ सहजै जित्ने उनीहरूको आशा देखिन्छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार