तालमेलले निर्वाचन परिणाम उत्साहजनक : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताउनुभएको छ। परिणाम उत्साहजनक आउनुलाई उहाँले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताउनुभयो । निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्‍चित भएको बेला महामन्त्री शर्माको यो प्रतिक्रिया आएको हो । परिणाम आइसकेपछि भने निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा गरिने उहाँको भनाइ छ ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नै गर्न सक्दैन भन्ने पनि थियो । पहिले तीन चरणमा भएको थियो । तर, यस पटक एकै चरणमा भयो । परिणाम पनि उत्साहजनक आयो । परिणामलाई सकारात्मक भनेर अगाडि बढ्नुपर्छ’, उहाँले भन्नुभयो, ‘निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा हुन्छ ।’कांग्रेस पहिलो दल बन्‍ने अवस्थामा पुग्‍नु कतै गठबन्धन दलहरूबीच भएको तालमेल त कतै एक्लै निर्वाचन लड्दा निकालिएको परिणाम भएको शर्माले बताउनुभयो।उहाँले आगामी प्रदेश र संघीय संसद्को निर्वाचनमा पनि तालमेल हुन सक्ने सङ्‍केत गर्नुभयो ।

‘यो तालमेल स्थानीय तहको निर्वाचनको लागि थियो । तालमेल राम्रै भयो गठबन्धन दलहरूबीच’, शर्माले भन्नुभयो, ‘खोलो तर्‍यो, लौरो बिर्स्यो पनि गर्नु हुँदैन । त्यसको अर्थ देशभर तालमेल गर्नुपर्छ भन्‍ने छैन ।’१७ चैतमा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुई सय बढी स्थानीय तहमा तालमेल भएको थियो । तालमेलकै कारण २०७४ सालको निर्वाचनबाट पहिलो बनेको दल एमाले दोस्रो हैसियतमा रहने देखिएको छ । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार