दलित महिला सदस्य उठ्न चाहेकी गोतामे बनिन् उपमेयर

तनहुँ । भानु नगरपालिका वडा नं. ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहनुभएको थियो । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गर्नुभएको थियो । तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा उठ्न भनियो । कांग्रेसका नगरका नेताहरुले अन्य दलसँग तालमेलका लागि छलफल गरिरहेका थिए, भागबण्डा मिलेको थिएन ।

नेकपा एकीकृत समाजवादी र माओवादीसँग थप छलफल गरेर तालमेल गर्ने, मेयर आफूले लिने र उपमेयरको उम्मेदवारी फिर्ता लिने तयारी अनुसार उहाँलाई उठाइएको थियो । नेपाली कांग्रेसबाट उपमेयरमा दाबी गर्दै आएका नगर उपसभापति समेत रहेकी उर्मिला पन्त, महिला संघकी जिल्ला सचिव सविता उप्रेती, विद्यार्थी नेतृ दुर्गा भण्डारीलगायतले उम्मेदवारी फिर्ता गर्ने गरी उपमेयरमा मनोनयन दर्ता गर्न नचाहेपछि गोतामेले उम्मेदवार बन्ने मौका पाउनुभएको थियो ।

माओवादीले पनि कांग्रेससँग बार्गेनिङ गर्नकै लागि सिताराम अधिकारीलाई मेयरमा र ओमकुमारी पौडेललाई उपमेयरमा मनोनयन दर्ता गर्न लगाएको थियो ।एकीकृत समाजवादीले पनि उपमेयर पाउने आशामा श्रीराम पौडेलको मनोनयन दर्ता गरेको थियो ।तर मनोनयन दर्तापछि पनि दलहरुबीच भागबण्डा मिलेन, कांग्रेसले एक्लै चुनावमा जाने निर्णय गर्‍यो र गोतामले उम्मेदवारी फिर्ता लिनु परेन । माओवादी र एकीकृत समाजवादीकाले पनि फिर्ता लिएनन् ।एक्लै चुनावमा गएपछि नतिजा आउँदा कांग्रेसले मेयर उपमेयर दुवै जित्यो । फिर्ता गर्ने गरी उपमेयरमा उम्मेदवारी दिएकी गोतामेले झण्डै दोब्बरी बढी मतले चुनाव जित्नुभयो ।

उहाँले १० हजार ५४७ मत ल्याउनुभयो । एमालेको सहयोगमा उपमेयरको उम्मेदवार बनेका गोविन्दराज जोशी समूहका केशरबहादुर गुरुङले ५ हजार ८१७ मत मात्र ल्याउनुभयो ।नेकपा माओवादी केन्द्रकी ओमकुमारी पौडेलले १ हजार २३८ र नेकपा एकीकृत समाजवादीका श्रीराम पौडेलले ९ सय ३१ मत पाउनुभयो ।दलित महिला सदस्यमा दोहोरिन खोजेकी गोतामे उपमेयर निर्वाचित भएपछि खुसी हुनुहुन्छ । उहाँले अब आफूले दलित तथा पिछडिएको वर्गको हितमा काम गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका भानुनगर समिति सभापति रामकुमार श्रेष्ठले भागबण्डा नमिलेका कारण तालमेल नभएको र एक्लै चुनावमा जानु परेको बताउनुभयो । ‘हामी उपमेयरको उम्मेदवारी फिर्ता गर्न तयार थियौं, तर उहाँहरुले त्यो भन्दा बढी भाग खोज्नुभयो’, उहाँले भन्नुभयो, ‘त्यसैले हामी एक्लै चुनावमा गयौंँ र सफलता पनि पायौंँ ।’नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम पौडेलले पनि आफूहरुले उपमेयर पाउने आशामा मनोनयन दर्ता गरेको तर कांग्रेसले पछि तालमेल नै गर्न नचाहेको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार