पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न काँग्रेस नेता महरको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गर्नुभएको छ । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताउनुभयो।

सरकारले आइतबार रातिदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गरिनुपर्ने उहाँको माग छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्ने उहाँ बताउनुहुन्छ । ‘सरकारको काम व्यापार गरेर नाफा खाने मात्र होइन । समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो । पेट्रोलियम पदार्थमा लगाइएको ट्याक्स मात्रै खारेज गर्न सके आकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ, ’ नेता महर भन्नुहुन्छ ।

लोकतान्त्रिक सरकारले कल्याणकारी व्यवस्थाका लागि कतिपय अवस्थामा कठोर निर्णय पनि लिनसक्नुपर्ने उहाँको धारणा छ । सरकार कूटनीतिक माध्यमबाट पनि नेपालमा पेट्रोलियम पदार्थको सहज व्यवस्थापनमा लाग्नुपर्ने महरको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा प्रत्येक कुराको ढुवानी बढ्ने र यसले जनताको दैनिक उपभोग्य वस्तुको मूल्य आकासिने महरले बताउनुभयो ।

अप्ठ्यारो परिस्थितिमा नै जनतालाई राज्य र सरकार भएको महसुस हुनुपर्ने उहाँ बताउँनुहुन्छ । ‘जनताको अभिभावक सरकार हो । उसले जनताको सुख, दुःखमा साथ दिनुपर्छ । र, आफू भएको प्रत्याभूति गराउन सक्नुपर्छ । त्यसपछि मात्र सरकारप्रति जनताको विश्वास बढ्छ, ’ नेता महरले भन्नुभयो ।विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटक–पटक मूल्य वृद्धि गर्नु मात्रै समस्याको समाधान नहुने उहाँ बताउनुहुन्छ । यो समस्या समाधानका लागि सरकार गम्भीर बन्नु पर्ने महरको धारणा छ ।

अहिले बजारको मूल्यवृद्धि रोक्न नसके कालान्तरमा व्यापारीले चलखेल गर्न सक्ने अवस्था आउने र उपभोक्ता थप मारमा पर्ने जोखिम रहेकाले सरकार चनाखो बन्नुपर्ने उहाँ बताउँनुहुन्छ । बढाएको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० बढाएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार