आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सक्ने अवस्था छैन : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । उहाँले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको हो ।

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिनुभयो । बारम्बार निर्देशन दिँदा पनि पुँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले बारम्बार छलफल सल्लाह गर्छौँ तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ, देखिने गरी काम गरौँ ।’

काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ रहेको उहाँको सचिवालयले जनाएको छ । मन्त्रालयका सचिव डा।रमेशप्रसाद सिंहले आयोजनाहरूको पुँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चालुतर्फ ५३.३९ प्रतिशत र पुँजीगततर्फ ३५.३९ प्रतिशत गरी कुल ३६.७३ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो। उहाँले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको जनाउँदै यसवर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताउनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण पेस गर्नुभयो । उहाँले आगामी असार १५ गतेसम्म विभागले झन्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि दाबी गर्नुभयो । सघन सहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको उहाँले बताउनुभयो । मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, संघीय संसद् सचिवालयलगायत विभाग र निकायले काम गरिरहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार