मौसम बिग्रिएको छ, जहाज दुर्घटनाको कुनै जानकारी छैन : थासाङ गाउँपालिका अध्यक्ष गौचन

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना भएको भन्ने कुनै जानकारी नआएको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताउनुभएको छ । ‘हाम्रै गाउँपालिका भएर विमान एयरपोर्ट पुग्ने हो ।

यहाँ धुम्म बादलसहित पानी परिरहेको छ, दुर्घटनाको कुनै जानकारी आएको छैन,’ गाउँपालिका अध्यक्ष गौचनले भन्नुभयो । मुस्ताङको लेते क्षेत्रमा जहाज दुर्घटनामा परेको भनिए पनि त्यहाँका स्थानीयसँग गरिएको कुराकानीमा दुर्घटनाको पुष्टि नभएको उहाँले बताउनुभयो। थासाङकै ३ नम्बर वडा लेतेका वडाअध्यक्ष हरि प्रसाद गौचनले पनि दुर्घटनाबारे कुनै पुष्टि नभएको बताउनुभयो ।

‘हाम्रै क्षेत्रको पहाड नाघेर जहाज मुस्ताङ जाने हो, यताका सबै स्थानीयहरुसँग मैले कुरा गरिरहेको छु,’ वडा अध्यक्ष गौचनले भन्नुभयो, ‘लेतेमा जहाज दुर्घटनाको कुनै सूचना छैन ।’यता, हराइरहेको तारा एयरले लेते पहाड छेउमा दुई राउन्ड लगाएपछि हराएको थासाङ गाउँपालिका ५ कुञ्जोका वडाध्यक्ष रमेश तुलाचनले दाबी गर्दै भन्नुभयो ‘मुस्ताङको कोबाङ लार्जुन क्षेत्र र लेतेमा राउन्ड लगाएपछि जहाज हराएको जस्तो देखिन्छ, लेतेको पहाडको माथि रहेका गोठालाहरुसँग सम्पर्क गर्दा अहिलेसम्म कुनै जानकारी आएको छैन ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार