काठमाडौंका मेयर शाहले भने:एक हप्ताभित्रै सिसडोललाई दूर्गन्धमुक्त बनाउँछौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको उहाँले बताउनुभयो। मेयर शाहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरू गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्याँस पनि बनाइन्छ । त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाइन्छ’, उहाँले भन्नुभयो, ‘बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो। सड्ने र नसड्ने फोहोर छुट्टयाउने। त्यसबाट मल र ग्यास निकाल्ने हो। सड्ने र नसड्ने फोहोर छुट्टयाउन काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ।’

मेयर शाहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । त्यस अवसरमा उहाँले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गर्नुभयो ।

स्थानीयको सबै समस्या समाधान हुने र फोहोर विर्सजन गर्न अवरोध गर्न नहुने उहाँको भनाइ थियो । मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोर्‍याए । यता, स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार