बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ : सांसद सत्गौवा

काठमाडौँ । बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । बहसका क्रममा सांसदहरूले हदम्याद राख्ने कि नराख्ने, हदम्याद राखिए कस्तो अवस्थामा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राख्नुभएको छ । उहाँले हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने उहाँको धारणा थियो ।

‘मन मिलेसम्म ‘लभ’को संज्ञा दिने, मन नमिलेपछि ‘रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो उहाँबारे कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘हदम्यादको कुरा धेरै उठिरहेको छ । हदम्यान राखिएन भने मुद्दाको चाङ लाग्छ अनि न्याय कसरी पाउँछन् ? यो कुरा हेर्न जरुरी छ ।

महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म सांसद होस देशको लागि कानुन निर्माण गर्न आएका छौं ।’ सांसद सत्गौवाले कानुन जति कठोर बनाएपनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या हुने बताउनुभयो । उहाँले सांसदहरूलाई आग्रह गर्नुभयो, ‘सांसद भएर हेर्नुपर्छ । सांसद भावनामा बगेर कानुन निर्माण गर्ने होइन । एउटा व्यक्ति र वर्गका लागि कानुन निर्माण गर्ने होइन । समग्र अवस्थालाई हेरेर कानुन निर्माण गर्नसपर्छ । महिलाले महिलाका लागि मात्रै कानुन बनाउनु हुँदैन ।’

सांसदले पुरुषका लागि पनि बोल्नुपर्ने सांसद सत्गौवाको भनाइ थियो । उहाँले पुरुषहरू पनि पीडित भएकाले कानुनले त्यस पक्षमा बोल्नुपर्ने बताउनुभयो । ‘विदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने ? पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ । पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन । पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्छ । कुन कुन अवस्थाका लागि हदम्याद राख्नुपर्छ भन्ने ख्याल गर्नुपर्छ,’उहाँले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार