उपप्रमुखहरुले आउँदो चुनावमा प्रमुखको तयारी गर्नुपर्छ : सुवेदी

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता पुर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताउनुभएको हो । त्यसको निम्ति आउने बाधा, अड्चनमा आफूहरुले साथ दिने उहाँले बताउनुभयो ।

उहाँले महिला जनप्रतिनिधिहरुले महिलाहरुको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडि ल्याउनुपर्ने पनि बताउनुभयो। निर्वाचित जनप्रतिनिधिहरुलाई जनतालाई निराश नबनाउन पनि उहाँले आग्रह गर्नुभयो । ‘यो अवसरलाई कसरी हामीले सदुपयोग गर्ने रु तपाईहरु समाजमा गएर, जनताको सेवामा समर्पित भएर, जनताको मन जितेर, जनतालाई आकर्षित गरेर, जनतालाई विश्वास दिलाएर तपाईहरु यहाँ आउनुभएको छ’, उहाँले भन्नुभयो, ‘यो जनताको विश्वासलाई, जनताको माया, सद्भावलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ ।

जनतालाई निराश बनाउनु हुँदैन । अझ बढी तपाईंहरुको दोहोरो भूमिका हुन्छ । एउटा, समाजसेवा, राजनीतिक सेवा । दोस्रो, महिलाहरुको क्षमता विकास ।’उहाँले राजनीतिक परिवर्तनमा महिलाहरुको भूमिका धेरै रहेको उल्लेख गर्नुभयो । अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच बधाई तथा अभिनन्दन गरेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार